‘बुबोनिक प्लेग' अमेरिकाको कोलोराडोमा पनि देखियो
केही महिना अघिदेखि विश्वनै कोरोना महामारीको चपेटामा परेको छ । यसैबीच अमेरिकाको कोलोराडोमा पनि एक लोखर्केमा ‘बुबोनिक प्लेग’को संक्रमण देखिएको छ ।
अमेरिकाको कोलोराडोस्थित मोरिसनब बस्तीमा ११ जुलाईमा एक लोखर्केमा प्लेगको संक्रमण देखिएको हो । दश दिन अगाडि मात्रै छिमेकी राष्ट्र चीनको आन्तरिक मंगोलियाका दुई व्यक्तिमा बुबोनिक प्लेग देखिएको समाचार बाहिरिएको थियो ।
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस जस्तै प्लेग नफैलियोस् भन्नका लागि बैज्ञानिकहरुले सतर्कता अपनाउन थालेका जानकारी गराइएको छ । विश्वमा यस ‘बुबोनिक प्लेग’ले पहिल्यै पनि महामारीको रुप लिइएको थियो । पहिलो पटक यस ‘बुबोनिक प्लेग’ले पाँच करोडको ज्यान लिएको थियो, भने दोस्रो पटक यूरोपको एक तिहाई जनसंख्या र तेस्रो पटक ८० हजारको ज्यान लिइसकेको जानकारी गराइएको छ । अहिले आएर चीन देखिएको १० दिनभित्रै अमेरिकाको कोलोराडोमा यस रोग देखिएको हो ।
यस रोग १९७० देखि १९८० को दशकमा रुस, अफ्रिका, ल्याटिन अमेरिका, दक्षिण अमेरिकी देश र छिमेकी राष्ट्र चीन र भारतमा पनि फैलिएको थियो । कोलोराडोका स्थानीय प्रशासनले सबैलाई मुसा, लोखर्के, न्याउरी मुसासँग टाढा रहन आग्रह गरेको छ । ‘बुबोनिक प्लेग’ मुसामा पाइने ‘यर्सिनिया पेस्टिस ब्याक्टेरियम’ नामक ब्याक्टेरियाबाट फैलिने रोग हो ।
उक्त ब्याक्टेरियाले फोक्सो, रगतलगायत शरीरका विभिन्न अंगमा हमला गर्ने गर्छ । प्लेग लागेपछि औंलाहरु र नाक कालो भएर सुन्निन थाल्ने हुन्छ । त्यसपछि, शरीरमा सहनै नसक्ने दुखाई तथा ज्वरो आउने लक्षण देखा पर्ने जनाइएको छ ।