रक्सीले मातेका वडाध्यक्षले ग्याङ लिएर प्रहरी चौकीमा आक्रमण गरे
रूकुम पश्चिमको मुसीकोट नगरपालिका- १३ का वडाध्यक्ष दीपक केसीले मदिराले मातेपछि ग्याङसहित प्रहरी चौकीमा आक्रमण गरेका छन्।
वडाध्यक्ष केसीले वडा नम्बर १४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जानकारी दिएको छ।
‘वडाध्यक्षले चौकी आक्रमण गरी पेस्तोल समेत खोसेछन्। १५-२० मिनेटपछि मात्रै प्रहरीले त्यो फिर्ता लिन सके,’ एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘वडाध्यक्षले ड्युटीका प्रहरी जवानलाई समेत लात्ताले हानेछन्।’
प्रहरी पोष्ट छिवाङका इञ्चार्ज सई धनबहादुर साउँदले मंगलबार बेलुका सवा ८ बजेतिर मदिराले मातेका वडाध्यक्ष केसीको नेतृत्वमा उनका भाइ राजन केसी, छोरा विमर्ष केसी, स्थानीय खिमराज गिरी, हरि ददेल, पूर्णबहादुर ददेललगायत ३०-४० जनाको समूहले प्रहरी पोष्टमा आएर एक्कासी ढुँगामुढा गरेको बताए।
वडाध्यक्ष केसीले ड्युटीमा रहेका प्रहरी जवान मदन कठायतलाई लात्ताले हानेर लडाएको सई साउँदले बताए।
‘वडाध्यक्षज्यूको ग्याङ ८:२० बजेतिर टन्न रक्सी खाएर मोटरसाइकलको हर्न बजाउँदै आएछ,’ साउँदले भने ‘ड्युटीका प्रहरी कठायतले चेकजाँचको लागि राखिएको गेट (घारो) खोल्दै गर्दा साले वडाध्यक्ष आएको थाहा छैन छिटो हटाउन सक्दैनन् भन्दै गाली गर्नुभएछ।’
गेट खोलेपछि मोटरसाइकल लगेर अगाडि बढेका वडाध्यक्षले त्यो रोकेर फर्केर आए।
फेरि साले, वडाध्यक्षलाई गेट लगाउनु पर्छ भन्दै आएर भुक्क एक लात्ती हाने र धकेलेर लडाइदिए।
त्यसपछि प्रहरी जवान कठायत आफ्ना इञ्चार्ज साउँदलाई त्यो कुरा भन्न भित्र गए। साउँद खाना खाँदै थिए। साउँद बाहिर निस्कँदा वडाध्यक्ष नेतृत्वको टोलीले बाहिर तोडफोड र ढुँगामुढा गरिरहेको थियो। सवारी चेकजाँचका लागि राखिएका अवरोध तथा ड्रम धमाधम फालिरहेका थिए, कुर्सी तोडफोड गर्दै थिए।
साउँद बाहिर आएपछि पनि वडाध्यक्षले यो प्रहरी पोष्ट किन चाहियो भन्दै तोडफोड गरिरहे। ‘अस्ति सिम्लीका स्थानीयसँग झगडा हुँदा एउटा मान्छे पनि नरोक्दिने भन्दै उहाँ कराइरहनुभयो,’ साउँदले भने, ‘मैले त्यत्रो मान्छे रोकें, कसैलाई जान दिइनँ त्यसैले ठूलो झडप हुन पाएन। तपाईंजस्तो मान्छेले यस्तो गर्ने? भन्दा पनि सुन्नुभएन।’
साउँदका अनुसार उनीहरू लाठी, चक्कु र नाइनस्टिकसहित आएका थिए।
‘हामी तीन जनामात्रै थियो, दुईजना साथी ड्युटीमै थिए,’ साउँदले भने, ‘कसैले नाइनस्टिक घुमाइरहेका थिए ,कसैका हातमा लाठी थियो कसैले चक्कु निकालेका थिए।’
प्रहरी पोष्टमा भएको हल्लाखल्ला पछि स्थानीय महिलाहरू आएपछि वडाध्यक्षको ग्याङ त्यहाँबाट गएको प्रहरीले बताएको छ।