विश्व सूचकांकमा नेपालको अवस्था
यतिबेला पूरै विश्वका लागि एउटै कानुन लागू भएको छ । सबै त्यही कानुन मान्न विवश छन् । धर्तीले हामीलाई सम्झाउँदै छ, ऊ आफैंसित उपचारको तरिका रहेछ । प्राकृतिक सन्तुलनको चाबी ऊसँगै छ ।
सबै राष्ट्रमा निकै व्यस्त भइरहने सडकहरु अहिले सुनसान छन् । सधैँ कोलाहल भइरहने शहरमा सन्नाटा छ । एकै पटकमा उडान भर्ने ९ हजार ७ सय विमान नउड्दा आकाश सुनसान छ । तिनमा चराजस्तै उड्ने करिब १२ लाख यात्रु चुपचाप छन् ।
वातावरण एकाएक परिवर्तन भएको छ । आकाश लगभग खाली भएको छ । चराचुरुंगीको चिर्बिर आवाज फैलिएको छ । जंगली जनावर सहरका सडकमा देखिन थालेका छन् ।
विकसित देशमा समेत बेरोजगारको संख्या रातारात बढी रहेको छ । कोरोना संक्रमणलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरिसकेको छ । यसले विश्वको अर्थतन्त्र धरासयी बनाउने स्थिति देखिएको छ । विश्वका व्यापारिक केन्द्र लकडाउनको कारण ठप्प छन् । लाखौं व्यक्ति आफ्ना गाउँ फर्किएका छन् । उनीहरु भोका छन् । बेरोजगार छन् । यो कोरोनाले मानवताविरुद्ध गरिएको अपराध हो भन्दा फरक पर्दैन ।
कतिपय देशले दोस्रो विश्वयुद्धताका भएको महामन्दी पछिको आर्थिक संकट भनी घोषणा गरेका छन् । आइएलोले ४० करोडभन्दा बढीको रोजगारी गुम्ने आँकलन गरिसकेको छ । हुन पनि करोडौं मानिसले आफ्नो रोजगारी गुमाएका छन् । भारतमा त चार घण्टाको सूचनामा १ सय ३८ करोड मानिसलाई ५५ दिनसम्म लकडाउनमा राखिएको थियो ।
विश्वमा शक्तिशाली मानिएका र आर्थिक हिसाबले सबल ठानिएका यी मुलुकमा समेत करिब ३० प्रतिशत बेरोजगारी छ । आर्थिक रुपमा समृद्ध राष्ट्र भने महामारीग्रस्त अवस्थामै छन् । कोरोनाले ती मुलुकमा बेरोजगारी अझै बढ्ने संकेत देखिएको छ । किनकि कोरोनाको कारण १ सय ५० वर्षकै यता ती राष्ट्रको अर्थतन्त्र धरासयी हुने अवस्था छ । संक्रमितको संख्या १ करोडमाथि पुगेका छन् ।
कोरोनाको जन्म चीनको वुहानमा आफ्नै मुलुकबाट उत्पन्न भए पनि चीनले यसलाई करिबकरिब पराजित गरिसकेको छ । कोरोनालाई पराजितसंगै चीनका लागि भने निर्यात व्यापार बढाउने सुनौलो अवसरसमेत बनेको छ । नेपालमा पनि झण्डै १३ हजारमाथि संक्रमित पुगेका छन् । संक्रमितको संख्या बढे पनि प्रायः शहरमा यतिबेला लकडाउन खोलिएको अवस्था छ । कतै यो खुकुलो लकडाउन अभिषापमा परिणत हुने हो कि भन्ने त्रास बढ्दै गएको छ ।
विगत केही वर्षदेखि निरन्तर रुपमा हासिल हुदै आएको उच्च आर्थिक वृद्धिदर कोरोनाका कारण एकाएक खुम्चन गई २.३ मा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ । पर्यटन, यातायात उत्पादनमूलक उद्योग र निर्माणतर्फको उत्पादन संकुचित हुने प्रायः निश्चित छ ।
अर्कोतिर कोरोनालाई एक छिन पन्छाएर फरक ढंगले हेर्ने हो भने संघीयताको अभ्यासमा संघ, प्रदेश र स्थानीय तहमा उल्लेख्य प्रगति हुँदै गएको संकेत देखिएका छन् । विश्वस्तरका इन्डेक्समा नेपालको उल्लेख्य सुधारका तथ्यहरु सार्वजनिक हुँदै आएका छन् ।
जनतामा अफवाह नफैलाउने हो भने मात्रै पनि थुपै्र आशा जगाउने काम भएको तथ्य विश्वस्तरका इन्डेक्सले देखाएका छन् । निरन्तर निराशा जगाउने र निरासाकै खेती गर्ने भन्दा पनि आशावादी भएर सकारात्मक सन्देश प्रवाह गर्नु अहिलेको आवश्यकता देखिन्छ ।
संयोगको कुराचाहिँ के छ भने यति हुँदाहुदै पनि विश्व बैंकको व्यवसायसम्बन्धी सूचकांक ‘डुइङ बिजनेश इन्डेक्स’ ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको भन्ने देखाएको छ । गत वर्ष १ सय १०औं स्थानमा रहेको नेपाल यस वर्ष ९४औं स्थानमा उठेको छ । यो एक वर्षमा हामी विश्वस्तरमा नै १६ स्थान अगाडि बढेका छौँ । यसलाई सकारात्मक पक्ष मान्नुपर्छ ।
त्यसैगरी मानव विकास सूचकाङ्क, जो संयुक्त राष्ट्र संघीय मानव विकास प्रतिवेदनले सार्वजनिक गरेको छ, त्यसमा २ स्थान प्रगति गरी नेपाल १ सय ४९ औँबाट १ सय ४७ औँ स्थानमा अगाडि बढेको छ । यसमा छिमेकी मुलुकहरुको दाँजोमा हामी अगाडिनै छौं । सो प्रतिवेदनअनुसार नेपाल मध्यम मानव विकास भएको मुलुकमा रहेको छ ।
भोकमरी सूचकांकमा अहिले नेपालको स्थिति सुध्रिएको छ र यो ७३औँ स्थान (२०.८ प्राप्तांकसहित) मा रहेको छ । यसले पनि प्रगति र विकासको संकेत गरेको छ । यस वर्ष भने कोरोना र सलहको प्रभावले कस्तो प्रभाव पर्ला भन्न सकिन्न ।
शान्ति सुव्यवस्थाको स्थिति कस्तो छ त ? भनेर हेर्दा विश्व शान्ति सूचक ‘ग्लोबल पीस इन्डेक्स’ मा नेपालले यस वर्ष १२ बिन्दुले सुधार गरेको देखिएको छ, अर्थात् नेपाल यसरी सुधारको स्थितिमा अगाडि बढेको छ । १ सय ६५ देशमध्ये नेपाल ७६औं स्थानमा आइपुगेको छ । जबकी अरु देशहरूको स्थिति फरक छ । बंगलादेश १ सय १औं स्थान, चीन १ सय १० औं स्थान, भारत १ सय ४१ औं स्थान र पाकिस्तान १ सय ५३औं स्थानमा रहेका छन् ।
संघीयताको कार्यन्वयन गरिरहेको नेपालमा विधिको शासनको सूचकमा नेपाल २ स्थानमाथि उठेको छ । गत वर्षभन्दा यस वर्ष क्रमशः यो माथि जाँदैछ । विश्वका १ सय २६ देशहरूमध्ये नेपाल ५९ औँ स्थानमा रहेको छ ।
भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स’ मा नेपाल ११औँ स्थानमाथि चढेको छ र १ सय २४ औँ स्थानबाट १ सय १३ औँ स्थानमा पुगेको छ । नेपाल सन् २००४ देखि यो सूचिमा समावेश हुदै आएको छ ।
चेन्ज रेडिनेस इन्डेक्सका अनुसार नेपाल १३६ राष्टमध्ये ९९औं स्थानमा रहेको छ । गत वर्ष १०३ स्थानमा रहेको थियो । बेलायतमा कार्यालय रहेको विश्वको सबैभन्दा ठुलो पेशागत कम्पनी केपीएम जी ले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।
महामारीको थुप्रै पीडा सहेर बसेका नेपाली विश्वव्यापी खुशी मापन सूचक ‘ह्याप्पीनेश इन्डेक्स’ मा के छ त ? भनेर हेर्दा खुशी मापनमा पनि नेपाल४.८८० अंकका साथ अहिले ३ स्थानमाथि उठ्न सकेको छ । सन् २०१७ मा ९९औं स्थानमा रहेको थियो ।
आर्थिक–सामाजिक कार्यसम्पादन र संस्थागत मूल्याङकनसम्बन्धी विश्व सूचक ‘कन्ट्री प्नफमेन्स एण्ड इन्सिच्यूशनल एसिसिमेन्ट–सीपीआइए’ मा हाम्रो मुलुक १ तह ३.४ बाट ३.५ माथि उठेको छ । यसलाई पनि सकारात्मक मान्नै पर्छ ।
विश्व प्रतिस्पर्धासम्बन्धी सूचकमा पनि १ स्थान ‘१०९औं बाट १०८ स्थान’ माथि उठेको छ । लैङ्गिक समानताको विश्व सूचकमा गत वर्षभन्दा १ स्थानमाथि उठेको छ । गत वर्ष नै हामी अगाडि थियौं, त्यसमा पनि यस वर्ष अलिकति माथि उठेको अवस्था रहेको छ । सबैभन्दा बढी ५३ वटा विश्वसम्पदा सूचिमा रहेको देश हो इटाली । जबकि नेपालमा १५ वटा मात्रै छन् ।
अहिले पर्यटन व्यवसाय ठप्प छ । तर पनि विश्व भ्रमण तथा पर्यटनसम्बन्धी सूचकमा ‘टुरिजम कम्पिटेटिभ इन्डेक्स’ मा नेपाल फेरि १ स्थानमाथि उठेको छ । जर्मनीको प्रसिद्ध ‘वान्डर हस्ट म्यागजिन’ ले विश्वमा भ्रमण गर्नैपर्ने १५ मुलुकमा नेपाललाई समावेश गरेको छ । यसबाट पर्यटकीय विश्व बजारमा नेपाल विशेष र उल्लेखनीय गन्तव्यका रूपमा विख्यात भएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानको सफलताका लागि यो महत्वपूर्ण आधार थियो । यद्यपि सफल हुन पाएन ।
विश्व बैकले हालै सार्वजनिक गरेको ‘वुमेन, बिजनेस एण्ड द ल २०२०’ रिपोर्टअनुसार महिला, व्यवसाय र कानूनका क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशको सूचीमा नेपाल परेको छ, त्यो पनि उत्कृष्ट तीनमा । यसले महिला सशक्तिकरणको क्षेत्रमा नेपाल विश्वमै अग्रणी स्थानमा देखाएको छ ।
यस वर्ष भर्ना कार्यक्रम सञ्चालन गर्ने वातावरण बनेको छैन । शैक्षिक शत्रको टुंगो छैन ता पनि गत वर्षको तथ्यलाई आधार मानेर संयुक्त राष्ट्रसंघीय बाल कोष ‘युनिसेफ’ को विश्व प्रतिवेदन ‘अ वल्ड रेडी टु लर्न’ मा सन् २००० पछिका १७ वर्षमा नेपालको विद्यालय भर्ना दर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको भनी प्रशंसा गरिएको छ ।
बेलायतको लन्डनस्थित ‘द कमन वेल्थ’ संस्थाले प्रकाशित गरेको युवा विकास सूचकांकमा नेपाल १८३ मुलुकमध्ये ७७औं स्थानमा रहेको छ । सार्क मुलुकमा श्रीलंका ३१ अंकसहित पहिलो स्थानमा छ भने नेपाल ७७ अंकसहित चौथो स्थानमा छ ।
‘वल्र्ड इकोनोमिक फोरम’ द्धारा प्रकाशित प्रतिवेदनअनुसार ‘ग्लोबल जेन्डर म्याप रिर्पोट’मा १४९ देशमध्ये नेपाल १०४ औं स्थानमा रहेको छ । बढी लैंगिक समानता भएका सार्क मुलुकमध्ये १०० स्थानमा श्रीलंका छ । दोश्रो स्थानमा नेपाल रहेको छ भने भारत १०८औं स्थानमा रहेको छ ।
नेपाल सरकार राष्ट्रिय योजना आयोग र अक्सर्फोड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसियटिभको सकहार्यमा तयार पारिएको प्रतिवेदन अनुसार बहुआयमिक गरिबी २८.६ प्र्रतिशत रहेको देखाइएको छ । यस सूचकांकले सन् २००६ देखि २०१४को अवधिमा नेपालको गरिबी आधा ०.३१३ बाट ०.१२७ मा झरेको देखाइएको छ ।
संयुक्त राष्ट्र संघको अगुवाइमा सन् २०१२ मा ब्राजिलमा सम्पन्न दीगो विकासका लागि भोकमरी मुक्तिको अभियान ‘जिरो हङ्गर च्यालेन्ज’ (रियो २० सम्मेलन) ले अघि सारेको अभियानअन्तर्गत नेपालले सन् २०२५ सम्ममा मुलुकबाट भोकमरी मुक्ति गर्ने लक्ष्य राखेको छ । यस कार्यक्रममा नेपालले ५ वटा ‘फाइभ पिलर’ मुख्य आधार बनाएको छ ।
यसरी विश्व सूचकमा नेपाल अनेक कोणबाट अगाडि बढेको स्पष्ट छ । अब यो ब्याधीपछाडि कसरी दुनियाँ आगाडि जाने होला ? यी इन्डेक्सहरु कायम रहलान् या नरहलान् त्यसको लेखाजोखा कोरोनालेनै गर्ने छ । देशका राम्रा सूचक कोरोनाको मुखमा पर्दैछन् । हामीले यस त्रासदीबाट सिकौं । अब फरक तरिकाले बांच्न र समृद्ध हुन सिक्नुपर्ने बेला भएको छ ।
३ करोड बराबरको वार्षिक गुन्दु्रक आयात गर्ने देशमा आत्मनिर्भरको कुरा हास्यस्पद लागे झैं विश्वव्यापी इन्डेक्समा देखाइएका कुरामाथि कति सत्यता होला त्यो भन्न सकिन्न । तर पनि नकारात्मक सोच जुनसुकै बेला जहाँ पनि छ । अनेक किसिममा अफवाह फैलाउने, फोहोरी हल्ला र मजाक गर्ने, बेतुकका कुरा गर्ने काम आजैबाट बन्द गर्दा फाइदै हुन्छ । यसले हानी नोक्सानी पक्कै गर्दैन ।
बरु हल्लाको राजनीति पछि गरे हुन्छ । माइतीघर मन्डलाको पवित्र स्थानमा कुल्चिएर भाषण गर्न सरकारले पनि अनुमति दिएकै छ । विरोधका नाममा कोरोनाको महामारी घरघरमा नभित्र्याउँ ।