मकवानपुरका ४ संक्रमितको रिपोर्ट नेगेटिभ
मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका एक महिलासहित ४ जना कोरोना संक्रमितको पुनः स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना पुष्टि भएको करिब ८ दिनपछि उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो । मनहरी वडा नम्बर १, ४ र ७ का ६ जनामा एकैपटक गत शुक्रबार संक्रमण पुष्टि भएको थियो ।
तर, आज मंगलबार आएको परीक्षण रिपोर्ट अनुसार ४ जनामा नेगेटिभ र २ जनामा पोजेटिभ देखिएको छ । आइतबार संक्रमित ६ जनाकै स्वाब परीक्षणको संकलन गरिएको थियो ।
हेटौंडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा ४०, ३७, २२, र ३० वर्षका महिलाको रिपोर्ट नेगेटिभ तथा २८ र २६ वर्ष २ युवकको पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार नेपालमा कोरोना संक्रमण निको देखिने औसत ६ देखि ८ दिन रहेको छ ।
रिपोर्ट नेगेटिभ आएपछि ४ जनालाई डिस्चार्ज गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको चौलागाईं बताए ।