निर्भया बलात्कार काण्ड : ७ वर्षपछि चारै दाेषीलाई एकसाथ दिइयाे फाँसी
(एजेन्सी) भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिइएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो ।
तिहाड जेलका निर्देशक सन्दीप गोयलले भने, ‘बिहान ५ः३० बजे चारै जनालाई फाँसीमा चढाइयो ।’ समाचार एजेन्सी पीटीआईले जेलका अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘ती चारै जना दोषीलाई एकैसाथ फाँसी दिइएको हो ।’ निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्ता रहेका थिए । उनीहरुलाई यसअघि नै निर्धारित मिति अनुसार आज बिहान फाँसी दिइएको हो ।
सन् २०१२ मा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाको परिवारले ७ वर्ष ३ महिना ८ दिनपछि न्याय पाएका छन् । दोषीलाई फासी दिनु न्यायको जीत रहेको उनीहरुले बताएका छन् । फाँसीको सजायपछि निर्भयाका अभिभावकहरूले अदालत परिसरबाहिर मिडियासामु भने कि यो न्यायको विजय हो । निर्भयाकी आमाले यसलाई न्यायको जित भनेकी छिन् ।
यो न्यायको लडाइँमा आफूहरुले खेपेको हैरानी बताउँदै दोषीहरुलाई सात वर्षपछि फाँसी दिइएपछि निर्भयाका बुबाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानून हुनुपर्दछ, जहाँ जनताले न्यायका लागि लामो समय कुर्नु नपरोस् ।’