बसले अटोलाई कुल्चिँदा चार जना घाइते
सुर्खेतमा बसले अटो रिक्सालाई कुल्चिँदा चार जना घाइते भएका छन्।
शनिबार दिउँसो कर्णाली प्रदेश अस्पताल नजिकै ना २ ख ६८२३ नम्बरको बसले भे १ ह ३७२० नम्बरको अटोलाई कुल्चिएको हो।
अटोमा सवार बाँसगढी नगरपालिका–५ बर्दियाकी २१ वर्षीया नन्दा गिरी, रचना गिरी, कल्पना गिरी र अटो चालक महाबु गाउँपालिका दैलेखका चक्र बहादुर शाही घाइते भएका छन्। दुई जनाको अवस्था भने सामान्य रहेको छ।
घाइतेमध्ये अटो चालक शाही र बर्दियाका नन्दा गिरीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। बसको टायरमुनि पर्दा नन्दाको हात समेत चुँडिएको छ। पश्चिमबाट आइरहेको बसले पूर्वबाट अस्पतालतर्फ गइरहेको अटो रिक्सालाई कुल्चिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।
घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
बस र बसका चालक डुंगेश्वर गाउँपालिका दैलेखका डम्बर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।