प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । गत बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको सबै रिपोर्ट सामान्य रहेकाले स्वास्थ्यमा सुधार देखिएको हो ।
चिकित्सकका अनुसार प्रधानमन्त्रीले नियमित खानपान, हिडडुल र व्यायामलाई निरन्तरता दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज (बुधबार) बिहान आफ्नो दाह्री आफैंले काट्नु भएको छ ।
बुधबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटर मार्फत प्रधानमन्त्री ओलीको स्वस्थ्यमा सुधार रफ्तारमा चलिरहेको र प्रधानमन्त्रीले आफैँले दाह्री काट्नुभएको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको जनाउँदै थापाले प्रधानमन्त्रीले हिँडडुल र नियमित व्यायाम जारी राख्नुभएको समेत उल्लेख गर्नुभएको छ ।
थापाले ट्वीटरमा लेख्नु भएकाे छ- ‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दाह्री काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’