सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सांसदहरुको माग
(काठमाडौं) सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) खरिद प्रक्रियामा भ्रष्टाचारको संकेत पाएको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । यसबारे सञ्चार मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधिहरुले दिएको जवाफमा समेत चित्त नबुझाएका सांसदहरुले गलत जवाफ दिएको भए कारबाहीको भागिदार बन्नुपर्ने चेतावनीसमेत दिए ।
सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सेक्युरिटी प्रेसबारे छलफल भएको थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बोलाइएको थियो । उनीहरुलाई सुरुमा लेखा समितिका सभापति भरत शाहले सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदका निर्णयमा थुप्रै अस्पष्टता रहेको भन्दै प्रश्नहरु राखेका थिए । तर, सुवेदी र पौडेलले दिएको जवाफमा सांसदहरुले चित्त बुझाएनन् ।