बाजुराका दुई गाउँपालिका भाइरल ज्वरोकाे चपेटामा, दुईको मृत्यु
(बाजुरा) भाइरल ज्वरोले बाजुराका दुईवटा गाउँपालिका प्रभावित भएका छन् । ज्वरोकै कारण दुई जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी बिरामी छन् । विरामीको संख्या बढ्दै जाँदा पनि सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।
गत साताबाट फैलिएको भाइरल ज्वरोका कारण बाजुराको स्वामीकात्रिक खापर गाउँपालिकाको जेरुमा गाउँका दुई जनाले ज्यान गुमाएका छन् । ५५ वर्षीया मिमा कडारा र ९० वर्षीय दबहादुर रावलको ज्वराेकै कारण मृत्यु भएको हो । यो गाउँपालिकामा बिरामी हुनेको संख्या ५० पुगेको छ ।
यसैगरी हिमाली गाउँपालिकाको वडा नम्बर ६ को बाल्डिकको अवस्था पनि उस्तै छ । यहाँ बिरामीको संख्या २ सय ५० पुगेको छ ।
एक सातादेखि फैलिएको ज्वरोको प्रकोपले विरामीको संख्या बढाएको छ । तर, स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति छैनन् । गाउँका सबै बालबालिका रुघाखोकी र भाइरल ज्वरोका कारण बिरामी भएपछि पठनपाठनसमेत प्रभावित भएको छ । एउटा घर वा एक जना मात्र होइनन्, गाउँ नै प्रभावित भएको एक साता हुँदा पनि संघ र प्रदेश सरकारहरुले चासो नदिएको भन्दै स्थानीयको आक्रोश छ ।
विद्यालयहरु समेत बन्द गर्नुपर्ने यो अवस्थालाई सरकारले खासै चासो दिएको छैन । स्वास्थ्यको मौलिक अधिकारबाट आफूहरु बञ्चित बनेको स्थानीय बताउँछन् ।
स्वास्थ्यकर्मीले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भन्दै सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यमा हेरचाह तथा चिसो तातोमा ख्याल गर्न सुझाव दिएका छन् । स्थानीय स्वास्थ्यकर्मीहरुले भाइरल ज्वरोका बारेमा स्पष्ट जानकारी भने दिन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय बाजुराले औषधि व्यवस्थापनमा लागिपरेको दाबी गरेको छ । चिकित्सकको अभाव हटाउन जिल्ला अस्पतालसँग सहयोग मागेको प्रशासन कार्यालयले जानकारी दिएको छ ।
स्थानीय स्वास्थ्यकर्मीहरुले चिसोका कारण रुघाखोकी र ज्वरोको समस्या देखिएको बताउँने गरेका छन् ।