कांग्रेसले अवरोध गरिरहेको संसद बैठक आज पनि डाकियो, विभिन्न विधेयक पेश गर्ने कार्यसूची
(काठमाडौं) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले आज पनि प्रतिनिधिसभा बैठक डाकेका छन्।
आज डाकिएको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची तोकिएको संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिए। योगीका अनुसार आज प्रतिनिधिसभा बैठक बसेमा गृहमन्त्री रामबहादुर थापाले 'कारागार विधेयक, २०७६' पेश गर्ने कार्यसूची छ।
प्रधानमन्त्रीका तर्फबाट 'संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्था विधेयक' र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले राष्ट्रिय सभामा 'नेपाल इन्जिनियरिङ परिषद्, पहिलो संशोधन' विधेयक छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेकपाका नेताहरुलाई जोगाउने काम गरेको भन्दै बिहीबार र शुक्रबारको संसद बैठक अवरोध गरेको थियो।
बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ।