चीनबाट नेपालीलाई उद्धार गरेकोमा खुसी छौं : खरिपाटीबासी
(काठमाडौं) चीनबाट उद्धार गरिएका नेपालीहरुलाई निगरानीमा राखिएको खरिपाटी क्वारेन्टाइन वरपरका बासिन्दाले आफूहरुले घर छाडेर हिँडेको भनेर अफवाह फैलाइएको बताएका छन् । उनीहरुले चीनबाट नेपालीहरुलाई उद्धार गरेकोमा खुसी रहेको पनि बताए ।
चीनबाट उद्धार गरिएकाहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने खबर सार्वजनिक हुनासाथ स्थानीयबासीले घर छाडेका समाचारहरु यसअघि सार्वजनिक भएका थिए । त्यसपछि स्थानीयबासीलाई सम्झाइ बुझाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अगुवाइमा घरदैलो कार्यक्रम गरियो ।
क्वारेन्टाइन नजिकै घर भएकी स्थानीय शर्मिला खड्काले घरमा ताला लगाएर बारीमा काम गर्न गएकाहरुलाई पनि कोरोनाको डरले स्थानीयबासी घर छाडेर हिँडेको भनेर प्रचार गरिएको प्रजिअ नेतृत्वको टोलीलाई बताइन् ।
उनले भनिन्, ‘मेरो बारी घरभन्दा अलि पर छ । घरमा हामी दुई जना छौं । घरमा ताल्चा लगाएर बारीमा गएको छ भने घरै छाडेर गएको भन्ने त हुँदैन । ताल्चा लगाएको घर देख्योकी घरै छोडेर गएको भन्दिने ।’
‘स्थानीयले आफ्नो घर छाडेर बसाइँ सरेर जान्छ त ? त्यो त जाँदैन नि । कोठामा बस्ने मान्छे दुई–चार जना त गए होलान्, काम विशेषले गए होलान् ।’