नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना प्रहरी नियन्त्रणमा
(कैलाली) नक्कली प्रहरी हौँ भन्दै रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बझाङ्ग खप्तडछान्ना गाउँपालीका १ घर भई हाल धनगढी उपमहानगरपालिका ७ मा मनेहरामा डेरामा बस्ने ३२ बर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालीका ५ हसनपुर बस्ने बर्ष ३५ का गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका ५ घर भई धनगढी उपमहानगरपालीका १ बस्ने बर्ष ३३ का किशन सिजापतीलाई पक्राउ गरेको छ ।
सिजापती मुख्यमन्त्री कार्यालयका सवारी चालक रहेको प्रहरीले जानकारी दिएको छ । गत माघ २ गते धनगढी उपमहानगरपालीका ३ बडहरा घर भइ मिलनचोकस्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा र साईकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेको उजुरी परेपछिे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
पसल संचालक शर्मालाई तैले चढ्ने मोटरसाईकल चोरीको हो हामीहरु प्रहरी हौ भन्दै आफुलाई रकम दिए छाढ्ने नत्र पक्रेर लैजाने भन्दै धम्कि देखाएर तीन जनाले दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।