रक्सी आयात रोकेर गाँजा खेती वैध बनाउन माग
(काठमाडौं) गाँजा खेती खुला गर्नुपर्ने माग राख्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।
प्रचलित कानून अनुसार नेपालमा गाँजा खेती प्रतिबन्धित छ । यसलाई खुला गर्नुपर्छ भन्दै संसद सचिवालयमै प्रस्ताव पेश भएपछि यसबारे बहस सुरु भएको छ ।
गाँजा खेती खुला गर्नुपर्ने प्रस्तावको प्रस्तावक सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडा छन् । उनी मकवानपुरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । मकवानपुर आफैं बढी गाँजा उत्पादन हुने जिल्ला मध्येमा पर्छ । यसको साथसाथै धादिङ, बारा लगायत उच्च पहाडी र हिमाली भेगमा गाँजा खेती हुने गरेको छ, जहाँ अन्य अन्नबाली राम्रो उत्पादन हुँदैन त्यस क्षेत्रमा गाँजा राम्रो उत्पादन हुने गरेको पाइन्छ ।
यसैलाई ध्यान दिएर नेपाललाई आर्थिक रुपमा सक्षम बनाउन र जनताको जीवनस्तर उकास्नका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्छ भनेर प्रस्ताव लगेको बताउँछन् प्रस्तावक खतिवडा । ‘यसको बहुआयामिक उपयोग हुन्छ । किसानहरुको जीवनस्तर उकास्न, विदेशी मुद्रा आर्जन गर्न र प्रकृतिक उपचारका लागि औषधी उत्पादन गर्न सकिने भएकाले यसलाई अगाडि बढाएका हौं’ सांसद खतिवडाले अनलाइनखबरसँग भने ।
खतिवडाको प्रस्तावमा ४५ जना नेकपाका सांसदहरुले समर्थन जनाएका छन् । जसमा पूर्वसभामुख ओनसरी घर्ती, पूर्वगृहमन्त्री जनार्दन शर्मा, पूर्व सभामुख पूर्णकुमारी सुवेदी, पूर्व मन्त्री पम्फा भुसाल, घनश्याम खतिवडा, गजेन्द्रबहादुर महत, जयपुरी घर्ती, धर्मशीला चापागाईं, नारदमुनी राना, गणेशसिंह ठगुन्ना, झपट रावल, छक्कबहादुर लामा, जीवनराम श्रेष्ठ, देवेन्द्र पौडेल, भूमिप्रसाद त्रिपाठी, जीवनराम श्रेष्ठ, नेपाल प्रहरीका पूर्व डिआईजी समेत रहेका सांसद नवराज सिलवाल लगायत छन् ।