एमसिसी सम्झौता संकटमा: नेकपाले अध्ययन कार्यदल बनायो
(काठमाडौं) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा अधिकांश सदस्य अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसबारे स्पष्ट पार्न तीन सदस्यीय कार्यदल गठन भएको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित समितिमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्। खनाल र रावल दुवैजना एमसिसीको विपक्षमा छन्। पार्टीले कार्यदलको संयोजक खनाललाई बनाएपछि नेपालमा एमसिसी संकटमा परेको नेकपा नेताहरुले बताएका छन्। ‘वरिष्ठ नेता खनाल र रावल दुवै एमसिसीविरोधी हुन्। उनीहरुले दिने सुझाव सरकारको पक्षमा हुँदैन। त्यसकारण एमसिसी सम्झौता संकटमा पर्ने सम्भावना छ’, एक नेताले बैठकपछि नागरिकसँग भने।
वरिष्ठ नेता खनालले एमसिसी नेपालको हितमा नरहेको र त्यसलाई जस्ताको तस्तै पारित गर्नुहुन्न भन्ने अभिव्यक्ति दिँदै आएका थिए। केन्द्रीय समिति बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबाहेक सचिवालयका कुनै पनि नेताहरुले बोल्ने अवसर नपाए पनि आइतबार बिहान बसेको सचिवालय बैठकमा सबैजसो सचिवालय सदस्यले आफ्नो धारणा राखेका थिए। उनीहरुले केन्द्रीय समितिमा उठेका विषयमा गम्भीरतापूर्वक ध्यान दिन दुवै अध्यक्षलाई आग्रह गरेका थिए। सचिवालय बैठकमा माधवकुमार नेपालले केन्द्रीय समितिमा उठेका विषयलाई गम्भीरतापूर्वक ध्यान नदिने हो भने पार्टी कार्यकर्तामा चरम निराशा आउने बताउँदै एमसिसीबारे कार्यदल बनाएर जानुपर्ने प्रस्ताव गरेका थिए। उनैले कार्यदलको संयोजक खनाललाई बनाउन प्रस्ताव गरेका हुन्। त्यसमा सबैको सहमति भएपछि रावल र ज्ञवालीलाई सदस्य चयन गरी सोही प्रस्ताव केन्द्रीय समिति बैठकमा राखिएको थियो। बैठकले सो प्रस्ताव सर्वसम्मत पास गरेको थियो।
बैठकमा उठेका प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष दाहालले नेपालको भूराजनीतिलाई हेरेर एमसिसीबारे निर्णय गर्नुपर्ने, अमेरिकासँग वार्ता गरी सच्याउनुपर्ने बुँदा सच्याई राष्ट्रिय हितअनुकूल बनाउनुपर्ने धारणा राखिरहेका बेला केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त्यसको प्रतिवाद गरेका थिए। बैठक स्रोतका अनुसार सचिवालय बैठकमा एमसिसी पास गराउने सहमति गरेर कार्यदल बनाउने विषयलाई यहाँ अनुमोदन गराउन खोज्नुभएको हो भन्ने प्रश्न नेता खतिवडाले उठाएका थिए। जबाफमा दाहालले ‘त्यसो होइन, यस विषयमा थप स्पष्ट हुन कार्यदल बनाइएको र त्यसको सुझावका आधारमा पार्टीले निर्णय गर्ने, अहिले कुनै निर्णय भएको छैन’ भनेका थिए।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसीबारे पार्टी र सरकारलाई सुझाव दिन वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनेको जानकारी दिए। उनका अनुसार कार्यदलले १० दिनभित्र आफ्नो सुझाव दिनेछ।
प्रधानमन्त्री ओलीले बुधबार बैठकको उद्घाटन सत्रमा दिएको अभिव्यक्तिमा चित्त नबुझाएक केन्द्रीय सदस्यले विज्ञ समूह बनाएर त्यसले दिएको रिपोर्टको आधारमा मात्रै एमसिसीबारे निर्णय गर्न सरकारलाई सुझाव दिएका थिए। केन्द्रीय सदस्यहरुले एमसिसी अमेरिकाको सैन्य रणनीति भएनभएकोमा विवाद रहेको तथा राष्ट्र नै विभाजित भएको अवस्थामा यसलार्य स्वीकार गर्न नहुने बताएका थिए।