बैंकको खराब कर्जा बढ्यो, सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको
(काठमाडौं) बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक हेर्ने हो भने अधिकांशको खराब कर्जा बढेको देखिन्छ । केही बैंकहरुले खराब कर्जा घटाए पनि अधिकांशको बढेका कारण औसतमा खराब कर्जा प्रतिशत बढेको हो ।
आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा २८ वाणिज्य बैंकहरुको खराब कर्जाको अवस्था औसतमा १.५४ प्रतिशत थियो । सञ्चालनमा रहेका २८ मध्ये ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल मिलेर एक भएका छन् । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको खराब कर्जा बढेर चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा १.६३ प्रतिशत पुगेको छ ।
खराब कर्जा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ । मुलुकमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै मूनाफा कमाउने बैंकको नै खराब कर्जा उच्च देखिएको छ । खराब कर्जा घटाउनुपर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अझ बढेको छ ।
गत आर्थिक वर्षको ६ महिनामा ३.४० प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर चालु आर्थिक वर्षको ६ महिनामा ४.७७ प्रतिशत पुगेको छ । बहुमत सेयर नेपाल सरकारको रहेको कृषि विकास बैंकको पनि खराब कर्जा उच्च देखिन्छ ।