राजपा-सपा एकतामा नयाँ खलनायकको प्रवेश
(काठमाडौं) गत शुक्रबार नेपाल मधेसी निजामती कर्मचारी मञ्चको १३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव दुवैको भाषणको आशय थियो, पार्टी एकता आवश्यक र अपरिहार्य छ ।
दुई पार्टीका अध्यक्षहरूको कुरा सुन्दा लाग्थ्यो, सपा र राजपाबीचको एकता टाढा छैन । संयोजक यादव जनताले पार्टी एकता गर्न म्यान्डेट दिएको बताउँछन् ।
‘राजपा र सपाबीचको एकता कार्यकर्ता र नेताको मात्रै चाहना होइन देशकै आवश्यकता हो’ संयोजक यादवले अनलाइनखबरसँग भने, ‘कुनै पनि हालतमा पार्टी एकता गरेरै छाड्छौं ।’
घट्नाक्रमहरू केलाउँदा भने दुई पार्टीबीचको एकता नजिक पुगेको देखिँदैन । राजपाले सपाको सरकारबाट बहिर्गमनलाई एकताको पहिलो शर्त बनाएको चर्चा पनि थियो । तर, सपा सरकारबाट बाहिरिएको एक महिना भन्दाबढी भइसक्दा पनि एकताको कुनै प्रयास भएको छैन । सपा अध्यक्ष उपेन्द्र यादवले गत पुस ८ मा उपप्रधानमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
बाहिर हल्ला भएजस्तो पार्टी एकताका विषयमा कुनै ठोस प्रगति नभएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष मण्डल तहमा वार्ताबारे कुनै छलफल भएको छैन ।’ राष्ट्रिय सभा सदस्य निर्वाचन र उपचुनावको निर्वाचनले पनि दुई दललाई झन टाढा पुर्याएको झाको भनाइ छ ।
सपाकी उपाध्यक्ष रेणुकुमारी यादव पनि दुई पार्टीबीच एकता वार्ता हुन नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘संघीय सरकारबाट हाम्रो पार्टी बाहिरिएपछि एकता वार्ता अघि बढ्न सकेको छैन, यद्यपि एकताको प्रयास जारी छ ।’