कैलालीमा मोटरसाइकल चालक मृत भेटिए
(धनगढी) कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरामा एकजना मोटरसाइकल चालक मृत फेला परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गुलरा सडकखण्डमा से २ प १८५० नम्बरको मोटरसाइकलसँगै लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी मृत फेला परेका हुन् ।
चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका थिए ।
चौधरीको मृत्यु भएको खबर पाएलगत्तै उनका आफन्तहरुले शनिबार बिहान करिब ३ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन् ।
चुहामा व्यापार गर्दै आएको चौधरी लम्कीबाट घर जाने क्रममा शुक्रबार राति करिब १२ बजेतिर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।