सभामुख : सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसक्नुभयो
(काठमाडौँ) सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन् ।
बाँस्कोटाले राजीनामा दिएको प्रधानमन्त्री कार्यालयबाट आफूलाई जानकारी आएको सभामुखले बिहीबारको संसद्मा जानकारी गराएका हुन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेको सञ्चारमन्त्री र विजयप्रकाश मिश्रबीचको संवाद रहेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बर्खास्त गर्न माग गर्दै सदनमा अवरोध गरेको थियो।
कांग्रेसले अवरोध जारी राखेपछि सभामुख सापकोटालेराजीनामाको अनौपचारिक जानकारी आएको भन्दै सदनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरुले अवरोध जारी राखेपछिप्रतिनिधि सभा बैठक यही फागुन १३ गते दिनको १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेेका छन्।
बैठकको सुरुमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले एक कम्पनीका एजेन्टसँग कमिसनको विषयमा सञ्चार बाँस्कोटाले गरेको छलफलको अडियो सार्वजनिक भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गरेकी थिइन् । मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर कारबाही हुने प्रतिबद्बता सदनमा आएर प्रधानमन्त्रीले जनाउनुपर्ने कांग्रेस सचेतक भुसालले माग गरिन् । भुसालले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् अवरुद्ध गर्ने पनि घोषणा गरेकी थिइन् ।