शिक्षण अस्पतालको फार्मेसी उपभोक्तालाई ठगी गर्दै
(काठमाडौं) मृगौला प्रत्यारोपण गरेका बिरामीहरुको अनिवार्य औषधिमा महाराजगञ्जस्थित शिक्षण अस्पतालले नै ठगी गर्ने गरेको पाइएको छ ।
प्रत्यारोपणपछि दैनिक ३ पटक सेवन गर्नुपर्ने मायकोफिट एस ३६० नामक औषधिको एक पत्ताको अस्पतालको फार्मेसीले १२ सय रुपैयाँ लिन्छ, भने त्यही औषधिको एक पत्ता शिक्षण अस्पतालकै गेटमा रहेको फार्मेसीले ५ सय ५० देखि ६ सय २० रुपैयाँसम्म लिन्छ ।
भरतपुरका सुवासचन्द्र सुवेदीले २० महिनाअघि शिक्षण अस्तपातला मृगौला प्रत्यारोपण गरेपछि सेवन सुरु गरेका उक्त औषधि ३ महिनाअघिसम्म ६ सय रुपैयाँमै पाउँथे । ३ महिनासम्म अस्पतालमा औषधि अभाव भयो तर, केहीदिन अघि अस्पतालमा पुग्दा उनलाई सोही औषधिको मूल्य १२ सय रुपैयाँ लिइयो ।
उनले त्यही औषधिको ६ पत्ता अस्पताल बाहिरको एक फार्मेसीमा ३३ सयमा किनेका थिए । जहाँ एक पत्ता बराबर ५ सय ५० रुपैयाँ मात्रै प¥यो । उनको यो गुनासोपछि हामीले शिक्षण अस्पतालभित्र र बाहिरका केही फार्मेसीमा गोप्य रुपमा यो औषधिको मूल्य बुझ्यौँ । शिक्षण अस्पतालको गेटमै रहेका ३ वटा फार्मेसीमा सो औषधिको मूल्य ५ सय ५० देखि ६ सय २० रुपैयाँसम्म पाइयो ।
औषधिको बट्टामा १२ सय रुपैयाँ उल्लेख गरिएपनि कम्पनीले नै औषधिको मूल्य घटाएर दिने भएकाले फार्मेसीले ५ सयदेखि ६ सयको हाराहारीमा बेच्न सक्ने उनीहरु बताउँछन् ।
हामीले सोही औषधी खोज्दै शिक्षण अस्पतालको फार्मेसीमा पुग्यौ । अचम्म त के रहेछ, भने ३ महिनादेखि नै औषधि अभाव रहेछ, केहीदिन अघि ल्याइएको ६० पत्ता औषधि एकैछिनमा सकिएको फार्मेसीका कर्मचारी बताउँछन् । मृगौलाका बिरामीका लागि नेपाल सरकारले ५ लाख रुपैयाँ अनुदान दिन्छ, उक्त अनुदान सरकारी अस्पतालमा राखेर त्यहीबाट औषधि लिनुपर्छ ।
तर, शिक्षण अस्पतालकै फर्मेसीमा दोब्बर मूल्य तिरेर औषधि खानुपर्ने भएपछि मृगौला रोगीलाई झन् पीडा थपिएको छ ।