समायोजनले स्वास्थ्य संस्था रित्तिएपछि करारमा कर्मचारी नियुक्त गर्दै स्थानीय तह
(ताप्लेजुङ) गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सञ्चालन गरेको छ ।
एक स्टाफ नर्स, ८ अहेव, ७ अनमी र ६ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ । कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपछि अधिकांश स्वास्थ्य संस्था बन्द हुने अवस्थामा पुगेका थिए ।
सरकारले कर्मचारी नपठाएपछि करारमा कर्मचारी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले जानकारी दिए । लामो समयदेखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारीविहीन हुँदा नागरिक सामान्य उपचारबाट समेत बञ्चित हुने अवस्था आयो र सरकारको दायित्वअन्तर्गत रहेर करारमा कर्मचारी नियुक्त गरी पदपूर्ति गरेका हौं’, उनले भने ।
जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ । समायोजनपछि सबै कर्मचारीले सुगम रोजेर हिँडेपछि जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी छैनन् । पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएका छन् ।
शनिबार सो गाउँपालिकाले करारका लागि लिएको परीक्षामा जुम्लाका परीक्षार्थीसमेत सहभागी भएका थिए । झण्डै छ दिनको यात्रा गरेर जुम्लाका कविराज अधिकारी ताप्लेजुङसम्म आइपुगे । गाउँपालिकाका अनुसार, परीक्षामा नेपालगञ्ज, रौतहट, झापा, वीरगञ्ज, धनुषा, महोत्तरी, सुनसरी, झापालगायतका ठाउँबाट पनि सहभागी आएका थिए ।