त्रिपिटक वाचनको प्रचार–प्रसारका लागि साइकल यात्रा
(काठमाडौं) काठमाडौं महानगरपालिका–७, चाबहिलस्थित चारुमती विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको प्रचार–प्रसारका लागि शनिबार साइकल यात्रा गरिएको छ ।
चाबहिलदेखि सुरु भएको साइकल यात्रा गौशाला, एअरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर चारुमती विहारमै फर्किएको छ ।
चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इन्डो चाइना फ्रेन्डसिप एसोसिएसनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले शुभारम्भ गरे । सो अवसरमा उनले समाजमा सकारात्मक चिन्तनको विकास गर्न बौद्ध दर्शनको महत्व रहेको बताए ।
उक्त विहार प्राचीन सम्पदास्थल भएकाले त्यसको संरक्षणमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
विभिन्न देशका राजदूतकोसमेत सहभागिता रहेको कार्यक्रमका संयोजक भिक्षु तपस्वी धम्मले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए ।
यात्रामा १०० बढीको सहभागिता थियो ।
भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसहित ७० बौद्धगुरु बौद्ध साहित्यवाचनमा सहभागी हुन काठमाडौं आएका छन् ।