प्रधानमन्त्री ओली : सरकारले केही गरेन भन्ने हल्ला खुब चल्ने गरेको छ, हामी कामबाट जवाफ दिन्छौँ
(काठमाडाैं) प्रधानमन्त्री समेत रहनु भएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले केही पनि गरेन भनेर हल्ला चलेको बताउनु भएको छ ।
बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो-‘सरकारले केही गरेन भन्ने हल्ला खुब चल्ने गरेको छ, हामीले कसरी काम गरेका छौँ ? सरकारले एउटा पनि काम गरेन भन्ने खालका कुराहरू पनि विपक्षीहरु कहिलेकाही उठाउने गरेका छन् ।’
भावनामा बगेर क्रान्ति र परिवर्तन नहुने स्पष्ट पार्दै अहिलेको परिस्थितिलाई बुझेर जनतालाई भ्रमित र त्रसित नबनाइ सचेत र स्पष्ट पारेर अगाडी बढ्न प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयाे ।
‘कहिलेकाही हामीलाई क्रान्तिकारी कुराहरु गर्न मन लाग्छ तर अहिलेको परिस्थितिलाई बुझेर जनतालाई भ्रमित र त्रसित होइन सचेत र स्पष्ट पारेर अगाडी बढ्न प्रेरित गर्नुहोस्,’ सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे । सरकार र पार्टीविरूद्ध प्रचार युद्ध छेडिएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्राविरूद्ध प्रचारयुद्ध अझै भनौं आक्रमण छेडिएको छ।’ तर उहाँले त्यो प्रचार आक्रमण के हो भन्ने प्रष्ट खुलाउनु भएन ।
प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने पनि उहाँले बताउनुभयो । ‘हामी वादविवादबाट होइन, नतिजा र कामबाट जवाफ दिन्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
वर्षमा १० किलोमिटर मात्र सडक कालोपत्र हुने गरेको विगत रहेको भन्दै उनले भने, ‘अहिले दैनिक ५.७ किलोमिटर सडक कालोपत्रे हुन्छ ।’
आफ्नो नेतृत्वको सरकार बनेपछि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको भन्दै उनले तथ्यांक प्रस्तुत गर्नुभएकाे छ ।
पहिले ११० औं स्थानमा रहेको व्यवसायिक सूचकांक अहिले ९४ औं स्थानमा उक्लिएको र मानव विकास सूचकांक १३९ बाट १३७ मा उक्लिएको बताउनुभयो ।
त्यस्तै भोगमरी सूचकांक तीन अंकले, शान्ति सूचकांक १२ अंकले, विश्व प्रतिस्पर्धा सूचकांक एक अंकले र विश्व भ्रमण तथा पर्याटक सूचकांक एक अंकले सुधार आएको उहाँले तथ्यांक प्रस्तुत गर्नुभयाे ।