प्रदेश २ सरकारको निर्णय : छोरी शिक्षा वीमाको रकम ३ लाख पु-याइयो
(जनकपुरधाम) प्रदेश नं. २ को सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा वीमाको रकम ३ लाख पु-याएको छ ।
२०७५ माघ १ पछि जन्मेका छोरीहरुको १ लाखको शिक्षा वीमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई तीन लाख पु-याएको छ । सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव ३ लाख पाउने घोषणा गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नु भयो , प्रदेशमा जन्मिने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन ।’
स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नुभयो ‘हामी अहिलेलाई तीनलाख पु-याएका छौ, स्थानीय सरकारले सहयोग गरे भने यो रकम लाई २० वर्षमा २० लाख पु-याउने लक्ष्य लिएका छौ ।’छोरी शिक्षा वीमा अन्तर्गत हाल सम्म करिब १५ हजार वीमा प्रदेश सरकारले गरिसकेको छ । वीमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने भएका छन् ।
यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको र यसै आर्थिक वर्षदेखि पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत गराउनु भयो ।
मुख्यमन्त्री राउतले जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी गराउनु भयो । शुक्रबार नै सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
यसका साथै मन्त्रिपरिषद्ले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालीन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।