तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ
(रौतहट) तराई-मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् । अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको हो ।
नेपाल भारत सीमा क्षेत्र हुँदै बन्जरहा जोड्ने बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरीतर्फ फायरिङ गरी भारततिर भागेका थिए ।त्सक्रममा प्रहरीले जवाफी फायरिङ् गर्दा घाइते भएपछि अलीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते अलीको दायाँ खुट्टामा गोली लागेको छ । उनको गौर अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल, खाली खोका र लोड गरिएको एक थान गोली बरामद गरेको छ ।
अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जानकारी दिएको छ ।
अलीविरुद्ध रौतहटमा ४ मुद्दा
पक्राउ गरेका अलीविरुद्ध रौतहटमा मात्रै विभिन्न ४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा संगठित अपराध र अपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोग सम्बन्धी ३ वटा र संगठित अपराध र अपराधिक लाभ (फिरौती, असुली) सम्बन्धी एउटा गरी चारवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।
अलीलाई पक्राउ गर्न यसअघि नै पुर्जीसमेत जारी भएको प्रहरीको भनाइ छ । उनले नेपालमा बम राख्ने, स्थानीय तह, इँटा उद्योगी र व्यवसायीलाई फिरौती माग्ने र नदिए बम विस्फोट गराउने गरेको प्रहरीका दाबी छ ।
पक्राउ परेका अलीले भारतमा जेल सजाय काटेका, भारतीय प्रहरीको हिरासत बसेको र एकपटक भारतीय प्रहरीको हिरासतबाटै भागेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।