ट्रायथलनमा ऐतिहासिक स्वर्ण, नेपालको खातामा ५ स्वर्ण भित्रियो
(काठमाडौं) १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन भएपछि पहिलो दिनका विभिन्न खेलहरुमा नेपाली खेलाडीहरुले शानदार सुरुवात गरेका छन् ।
मार्सलआर्टमा नेपालले यसपटक पनि काठमाडौंमा आयोजित पछिल्लो आठौं सागमा झैँ पदक बटुल्छन् भन्ने आशामा मलजल थप्दै गर्विलो प्रदर्शन गरेका छन् ।
ट्रायथलनको महिला स्पर्धामा पनि नेपालले पहिलोपटक ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएको छ । नेपालले याे समाचार तयार पार्दासम्म ५ स्वर्ण एक , १ रजत र १ काँस्य पदक जित्न सफल भइसकेको छ ।
कराँतेको पुरुष एकल काँतामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जित्दा तेक्वान्दोको पुम्सेतर्फ पनि कमल श्रेष्ठले स्वर्ण पदक खोसिन नदिन सफल भएका छन् । मण्डेकाजीले कराँतको पुरुष एकल काँतामा २५ दशमलव ७२ अंक बटुलेर २४ दशमलव ९२ अंक जोडेका पाकिस्तानका नियामतुल्लाहलाई पछि पार्दै स्वर्ण पदक बटुल्न सफल भएका हुन् । मण्डेकाजीको स्वर्ण नेपालको लागि जारी सागको पहिलो स्वर्ण पदक हो ।
दक्षिण एसियाली खेलकुद सागको टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो ।
टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भयो । नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पार्यो ।
यता तेक्वान्दोको पुम्सेको २९ बर्ष मुनिको स्पर्धामा कमल श्रेष्ठले तेक्वान्दोका लागि पहिलो स्वर्ण पदक दिलाउन सफल भए ।
यसैगरी तेक्वान्दोको पुम्सेमा नेपालले अर्को स्वर्ण पदक पनि जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८ दशमलव १५० अंकका साथ यो पदक जितेकी हुन् । सागमा मादेनले जितेको नेपालको पाँचौं स्वर्ण हो ।
उता पोखरामा आज सम्पन्न ट्रायथलनको महिलातर्फको स्पर्धामा पनि पोखराकी घरेलु खेलाडी सोनु गुरुङले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भइन् । सोनीले ट्रायथलनको निर्धारित दूरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरेकी थिइन् । पुरुष ट्रायथलनमा भने नेपाल काँस्य पदकमा नै सीमित रहन पुग्यो । नेपालका वसन्त थारुले एक घण्टा ३ मिनेट ६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाललाई काँस्य दिलाएका हुन् ।
यसैगरी कराँतेको व्यक्तिगत महिला कातामा चञ्चला दनुवारले रजत पदक हात पारेका छिन् । उनले पाएको पदक नेपालको लागि जारी सागको पहिलो पदक हो । उनी पाकिस्तानकी साइदासँग झिनो अंकले पछि पर्दै रजतमा चित्त बुझाउन पुगेकी हुन् ।