धर्मगुरु कृष्णदासले आफ्नै अनुयायीलाई करणी गरेको स्वीकारे
(काठमाडौं) आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सुनसरी चतराधामका धर्मगुरु कृष्णदास महाराज भनिने कृष्णदास गिरीले आफूबाट गल्ती भएको स्वीकार गरेको अडियो प्राप्त भएको छ ।
काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।
उजुरी दर्ता भएपछि कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा पटक-पटक आँफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरिरहेको छन् । पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका छन् । स्रोतका अनुसार प्रहरीले शुक्रबार नै जिल्ला अदालतबाट सुनसरीबाट पक्राउपूर्जी लिएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । कृष्णदासका अनुयायीले सामाजिक सञ्जालमा कृष्णदास र महिलाबीच म्यासेजमा भएको कुराकानी सार्वजनिक गरेका छन् ।
उजुरीदर्ता हुनु पहिले महिलाले कृष्णदासलाई पटक–पटक भेट्ने, चुम्बन गर्ने, अंकमाल गर्ने इच्छा व्यक्त गर्दै ४४ दिनभित्र भगवान र भक्तको वारपार हुने लगाएतका लामो म्यासेज पठाएकी छिन् ।
यस्तो म्यासेज पठाउने र जबरजस्ती करणीको आरोप लगाउने महिलालाई हामीले शनिबार भेटाएका छौं । उनले कृष्णदासले आँफूमा भगवान कृष्णप्रति भक्तिभाव जगाई ‘भगवान आँफै हुँ’ भन्ने बनाएपछि त्यस्तो म्यासेज लेखेको दाबी गर्छिन् । पीडित महिलाले कृष्णदासलाई पूर्ण रुपमा भगवान मानेकाले दशैंमा टीका लगाउन गएको समयमा एक्लै भेटघाट गरी आफूलाई जबरजस्ती करणी गरेता पनि डर क्रासका कारण तत्कालै सार्वजनिक रुपमा विरोध गर्न नसकेको बताउँछिन् ।
महिलाले लगाएकी सबै आरोपलाई कृष्णदास आँफैले स्वीकार गरेका छन् । कृष्णदास र महिलाबीच भएको डेढ घण्टा लामो फोन संवादमा कृष्णदासले पटक–पटक आँफूबाट धेरै गल्ती भएको बताएका छन् ।
उनले हरेक प्रकारबाट आफू गलत भएको, महान दोषी भएको स्वीकार गरेका छन् । यति मात्रै होइन उनले–‘अहिले तिम्रो हातमा छ । तर, २४ घण्टापछि तिम्रो हातमा पनि हुँदैन । मेरो अपराधलाई क्षमा गर’ भनेका छन् ।
हामीलाई प्राप्त भएको अडियोमा उनले अन्य धेरै कुराको पनि खुलासा गरेका छन् । कृष्णदासले गल्ती स्वीकार गर्दा पनि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको छैन ।