काठमाडौंमा कालोपत्रे ! प्रधानमन्त्रीको दबाव कि ठेकदार सुध्रिए ?
(काठमाडौं) असार लागेपछि मात्र भटाभट सडकको मर्मत सुरु हुँदै आएकोमा यो वर्ष काठमाडौंमा हिउँदमै सडक मर्मतको काम सुरु भएको दृश्य बाक्लै देखिन थालेको छ । अच्चम्मै भएन त ? नयाँ बानेश्वरको संसद भवन नजिकै दिउँसै अलकत्रा बिछ्याउन थालिएको छ ।
अहिले बानेश्वर आसपासको सडक कालोपत्रे गरेर चिल्लो बनाइएको छ भने जेब्राक्रस र लेनमा रंग पोतेर आकर्षक बनाइएको छ ।
जिम्मेवार निकायहरु यो वर्ष पूर्वनिर्धारित कार्यक्रम अनुसार नै सडक मर्मतमा होमिएको बताउँछन् । तर, कतिपयलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनकै आधारमा काम भइरहेको हो कि भन्ने भान परेको छ । बसन्त कुमार नेम्वाङ नयाँ भौतिक पूर्वाधार मन्त्री बनेर आएका छन् । उनी जोशमा साथ सडक मर्मतको अनुगमनमा निस्कन थालेका छन् ।
सधैं असार कुर्ने र भीआईपीको आगमनका बेलामा मात्र सडकमा ओर्लिने ठेकेदार र सडक विभाग अहिले दिनरात नभनी काठमाडौंमा सडकमा पीच गर्दै गरेको भेटिन थाल्दा नागरिकहरु अच्चमित छन् ।
सडक विभाग धमाधम पूर्वायोजना अनुरुपनै काम भइरहेको बताउँछ । ठेक्का सकेर यही समयमा काम गर्न तयारी गरिएको भन्दै विभागले यो वर्ष खाल्डाको अधिकतम् समस्या हल गर्ने दाबी गरेको छ ।
केही दिनयता काठमाडौंमा सडकमा कालापत्रे गर्ने क्रम तीव्र भएको छ । खाल्डा परेका स्थानमा मात्रै हैन, बिग्रिन लागेका सकडमा पनि कालोपत्रे गरिँदैछ । नयाँ बानेश्वर, बल्खु, जाउलाखेल लगायतका विभिन सडकमा धमाधम कालोपत्रेको काम हुँदैछ । दिउँसो मात्र हैन, राति पनि सडकमा काम भइरहेका छन् ।
सडकको खाल्डा पुरेर यातायात व्यवस्थापनलाई सहज बनाउने र राजधानीको जाम घटाउने विषयमा भएका कामलाई आफूहरुले पनि चासोका साथ हेर्न थालेको प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता यमलाल भुसाल बताउँछन् ।
सडक विभाग लगायतका सडकसम्वद्ध निकायले सडकमा गरेका कामको अनुगमन भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको भन्दै प्रधानमन्त्री कार्यालयले ‘अनुगमनको पनि अनुगमन’ गरिरहेको उनले बताए । ‘यो पटक हामी साँच्चिकै काठमाडौंका सडकलाई खाल्डा मुक्त देख्न चाहन्छौं,’ उनले भने,‘त्यसैले जिम्मेवार निकायलाई निर्देशन दिने मात्रै हैन, सहजीकरण गर्ने काम गरिरहेका छौं ।’
विभागले पनि राजधानीका सडकमा खाल्डा पुर्न ‘क्विक रेस्पोन्स टिम’ राखेर मर्मत थालेको भुसाल बताउँछन् । उनले यो काममा सघाउन प्रधानमन्त्री कार्यालयकौ अग्रसारतामा एक कार्यदल नै बनाएर काम भइरहेको बताए । ‘हामीले थालेको अनुगमनबाट नतिजा छिटो आउँछ भन्ने अपेक्षा छ, समस्या परेको भए फुकाउने र त्यसलाई समाधान गरेर सडकमा देखिएका पूर्वाधारसम्बद्ध समस्या हल गर्न प्रयत्न सुरु भएको हो,’ भुसालले भने,‘अहिले सडकमा त्यसको प्रभाव देखिन पनि थालेको छ ।’
प्रधानमन्त्री कार्यालयले सडकमा समस्या समाधान गर्ने हेतुले सहसचिव छवि रिजाल नेतृत्वको एक कार्यादल नै बनाएको छ । यो कार्यदलमा सडक विभाग, मेलम्ची अन्तरगतको आयोजना कार्यान्वयन ईकाई, काठमाडौं उपत्यका विकास प्राधिरकण, बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायतका प्रमुख तथा प्रतिननिधिहरु छन् ।
यो समितिले मुख्य सडक, भित्री सडक, करिडोरलगायतका देखिएका समस्या समाधान, फुटपाथको व्यवस्थापन, जाम न्युनीकरण लगायतका विषयमा छलफल गरेर काम अघि बढाउने योजना बनाएको छ ।
त्यसैअनुरुप नियमित काम गर्दा भएका समस्या जानकारी गराउने र समन्वयात्मक रुपमा काम गर्ने योजना बनाइएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । यो कार्यदलले जनस्तरबाट आएका गुनासो एक अर्कालाई तुरुन्त जानकारी दिएर समाधानको प्रयत्न थाल्ने बताइएको छ । मुख्य रुपमा सडकको अवस्था सुधार्ने र खाल्डाहरु हटाएर सडकलाई यात्रा योग्य बनाउने योजना सरकारको छ ।
सडक विभाग पनि यो वर्ष सडकका प्रायः खाल्डा निमिट्यान्न पार्ने बताउँछ । यस वर्ष काठमाडौंमा सडक मर्मतका लागि बजेट पर्याप्त रहेकाले समस्या नभएको बताउँछन् सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटा । उनले यो वर्ष ब्यापकरुपमा सडक मर्मतको काम गर्ने योजना अनुरुप नै बजेट व्यवस्था गरिएकाले बेलैमा काम थाल्ने गरी विभागलाई आत्मविश्वासका साथ अघि बढ्न सहज भएको बताए ।
‘यो वर्ष आवधिक मर्मतका लागि ६० करोड बढी रकम विनियोजन भएको छ, यसले अहिले टालटुल गरेर चलेका सडकलाई स्तरीय बनाउन सकिन्छ,’ उनले भने, ‘खाल्डा परिररहने सडकलाई बलियो बनाउन यस्तो आवधिक मर्मत जरुरी थियो, जुन हाम हामीले सुरु गरिसकेको छौं ।’
विभागले खाल्डा पुर्ने कामका लागि पनि मात्रै यो वर्ष काठमाडौंमा १० करोड बढी खर्च गर्दैछ । त्यसबाहेक पनि विभागसँग अन्य सहायक मार्गहरुको मर्मतका लागि ५ करोड बराबरको बजेट छ । त्यसैले काठमाडौंमा मात्रै यो वर्ष सडक मर्मतका लागि करिब ८५ करोडभन्दा बढी रकम खर्च गर्दैछ, विभागले यस यसबाट धेरै सडकहरुको अवस्था सुधार्न सकिने विश्वास छ, उपमहानिर्देशक सापकोटालाई ।
तर, अझै पनि मेलम्चीको पाइप बिछ्याउन खनिने खाल्डा भने समस्याकै रुपमा रहेको विभागको तर्क छ । यस्तै ठाउँ–ठाउँमा ढल तथा खानेपानीको पाइप फुटेर पनि विभागलाई काम गर्न समस्या परिरहेको सापकोटाले बताए ।
गौशाला–चाबहिल खण्डमा यही ढल फुट्ने समस्याका कारण सडक लमो समयदेखि जीण र्न छाड्नुपरेको विभागको भनाइ छ । यस्तै अब निकट भविष्यमा नै चाबहिल–जोरपाटी खण्डलाई पनि स्तरीय बनान सकिने विभागको दाबी छ ।
ढलको पाइप व्यवस्थापन गर्नेसहित सडकको दायाबायाँ बाँकी भागको पिच गर्न छुट्टै ठेक्का लगाउन विभागले तयारी गरेको छ । एकपटक भएको टेन्डरमा कम्पनी नै नआएपछि दोस्रो चरणमा गरिएको टेन्डरमा पनि एउटा मात्रै कम्पनी सहभागी भएको छ । यो बोलपत्र मूल्यांकन गरेर ठेक्का लगाइहाल्न सकिए काठमाडौंको सडकका सम्बन्धमा आउने धेरै प्रतिशत गुनासो आफैं हल भएर जाने विभागका अधिकारीहरु बताउँछन् ।
अहिले विभागीयस्तरमा मात्रै हैन, मन्त्रालय र प्रधानमन्त्री कार्यालयस्तरसम्म नै काठमाडौंका खाल्डो पुर्ने अभियानले महत्व पाएको छ । यसअघि पटक–पटक काठमाडौं मास्क नलगाई हिँड्न मिल्ने शहर बनिसकेको बताउने गरेका प्रधानमन्त्रीले काठमाडौंको सडकबारे समीक्षा बैठकमै गम्भीर चासो प्रकट गरेपछि भौतिक पूर्वाधार मन्त्रालयसँगै सडक विभाग र प्रधानमन्त्री कार्यालयसमेत सक्रिय बनेका हुन् ।
गत मंसिर ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षको पहिलो चौमासिक समीक्षामा निर्देशन दिँदै भनेका थिए,‘अब अर्को चौमासिक समीक्षामा बस्दा अहिलेजस्तो सडकका खाल्डाको गीत सुन्न नपरोस्, त्यसैअनुसार काम गर्नू ।’
गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेकपाका दोस्रो पुस्ताका नेताहरुसँगको भेटमा काठमाडौंका खाल्डाखुल्डीको प्रशंग कोट्याउँदै सरकारको काम गराइबारे प्रश्न उठाएकी थिइन् ।