‘अपहरण’ गरिएको आयल निगमको ट्यांकर धनुषामा भेटियो
(काठमाडौं) सिरहाको लहानबाट अपहरण गरेको भनिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ । मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- १ स्थित रमदैयामाबाट मंगलबार राति नै प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा ट्यांकर भेटिएको पुष्टि गरे । भेटिएको ट्यांकरमा तेल खन्याइएको छ । तेल कहाँ खन्याइयो भन्ने विषयमा खुलेकाे छैन ।
बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरण गरेको बताइएको थियो । यद्यपि, दाबी गरिएजस्तो अपहरण भएको थियो या चालककै संलग्नतामा तेल बिक्री गर्न अपहरणको नाटक गरिएको थियो भन्ने खुलेको छैन ।
चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डीआईजी कार्कीले जानकारी बताए ।