प्रहरी नियन्त्रणमा युवकको मृत्युपछि पृथ्वी राजमार्ग अवरुद्ध
(चितवन) प्रहरीले पक्राउ गरेका युवकको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका छन् ।
आइतबार दिउँसो १२ बजेपछि राजमार्गमा उत्रिएर उनीहरुले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आज विहान मृत्यु विरोधमा उनीहरुले राजमार्ग अवरुद्ध पारेका हुन् । अहिले सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।
शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा एक सवारी साधनभित्र ती युवाले अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका कँडेल प्रहरीलाई झुक्याएर भाग्ने क्रममा भीरबाट लडेर मृतयु भएको प्रहरीको दावी छ । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ ।