कानूनविपरीत आमादब्लममा पुर्जाको टोलीले कुवेतको झण्डा फहराएको ठहर कारवाहीबारे पर्यटन विभाग छलफलमा
(काठमाडौं) आमादब्लम हिमालमा कुवेती झण्डा फहराइएको विषयमा विवाद बढेपछि पर्यटन विभागले छानबिन गरेको छ । छानबिनबाट सरकारको अनुमतिबिनै झण्डा फहराइएको पाइएको पर्यटन विभागले जनाएको छ ।
नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जासमेत सहभागी आरोहण दलले गत साता आमादब्लम हिमाल आरोहण गरेको थियो । आरोहणका क्रममा विशाल आकारको कुवेती राष्ट्रिय झण्डा शिखरमा फरफराइएको भिडियो पुर्जाले नै सामाजिक सञ्जालमा राखेका छन् । यसलाई लिएर विभिन्न टिप्पणीहरु भएका थिए ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले झण्डा लैजान सरकारसँग अनुमति नलिइएको बताए । यस विषयमा आरोहण दल, टोली नेता र सरकारी सम्पर्क अधिकृतसँग स्पष्टीकरण लिइएको उनको भनाइ छ ।
‘दुई देशबीचको कूटनीतिक सम्बन्धसँग जोडिएको विषयसमेत भएकाले कुनै कम्पनीले लुकाएर झण्डा लैजानु अस्वभाविक हो,’ घिमिरेले अनलाइनखबरसँग भने ।
स्पष्टीकरणका दौरान आरोहण दलले झण्डा लैजान अनुमति चाहिन्छ भन्ने थाहा नभएको बताएको छ । जबकि यो आरोहण अभियान चलाउने कम्पनी हिमालयन एडभेन्चर पछिल्लो कीर्तिमानी आरोही पुर्जाकै हो । ८ हजार मिटर अग्ला विश्वका सबै हिमाल चढेका आरोहीलाई आरोहणसम्बन्धी कानून थाहा नहुनु आश्चर्यको कुरा भएको विभागका अधिकारीहरु बताउँछन् ।
हिमालमा जानुअघि लैजान पाउने र नपाउने बस्तुहरु तथा तिनीहरुको अनुमति प्रक्रिया सम्बन्धमा स्पष्ट कानून छ । पुर्जाको आरोहण दलले यसलाई उल्लंघन गरेको सरकारले ठहर्याएको छ ।
‘यो टोलीबाट कानून विपरित काम भएको छ,’ विभागका महानिर्देशक घिमिरेले भने, ‘हामी छलफल गरिरहेका छौं, छिट्टै निष्कर्षमा पुग्छौं ।’
कुवेतको झण्डा आमादब्लम जाँदैछ भन्ने थाहा पाएको भए नेपाल सरकार आफैले सक्रियता लिएर प्रचारमा सहयोग गर्ने उनको भनाइ छ ।
‘हामीलाई थाहा दिएर लगेको भए कुवेतमा नेपालको प्रवर्द्धन हुनेगरी हामीले नै त्यसको प्रचार गर्ने थियौं, तर, त्यसो नगरी यहाँ कानून मिच्ने काम भएको छ,’ घिमिरेले भने ।