विदेशी अस्पतालको कोमामा २८ नेपाली
(काठमाडौं) घरमै केही काम गर्ने सोच बनाएका पति रामसिंहलाई करबल गरी वैदेशिक रोजगारीमा पठाएकोमा दार्चुला, दल्लेखकी प्रमिला धामीलाई अहिले पश्चाताप भइरहेको छ।
६ महिनाअघि साउदी अरेबियाको जेद्दास्थित एक कम्पनीमा काम गर्दागर्दै लडेका २९ वर्षीय रामसिंहको टाउकोमा गहिरो चोट लागेको छ। सोही चोटका कारण यतिखेर उनी त्यहाँको अस्पतालमा भर्ना भएका छन्। पत्नीले घर फर्काउने प्रयास गरे पनि सफल हुन सकेकी छैनन्।
‘अघिल्लो महिनासम्म जतिसक्दो चाँडो घर फर्काउनुप-यो भन्दै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘विदेशबाट ल्याउन नसक्दा तनाव भइरहेको छ।’ उनी रोजगारीका लागि साउदी पुगेको ६ महिना मात्र पुगेको थियो।
स्वदेशमा पाइने अवसरमा आँखा नलगाई वैदेशिक रोजगारीमा जाँदा कतिपयले राम्रो आर्थिक प्रगति गरे पनि कतिपयले जिन्दगीभरी नमेटिने दाग र पीडा बोक्न बाध्य छन्। वैदेशिक रोजगार बोर्डका अनुसार यतिखेर रोजगारीका लागि विभिन्न मलुक पुगेका कम्तीमा २८ नेपाली कोमा (अचेत अवस्था) मा उपचारत छन्। ती सबै गन्तव्य मुलुकका रोजगारदाताकहाँ काम गर्दागर्दै कार्यस्थलमा दुर्घटनामा परेर जीवनमरणको दोसाँधमा पुगेका हुन्।
बोर्डमा हालसम्म पीडितका आफन्त र वैदेशिक रोजगारीको क्रममा रहेका व्यक्तिले दिएको सूचनाको आधारमा कोमामा पुगेका २८ को विवरण संकलन भए पनि यस्तो संख्या अझै ठूलो हुन सक्ने अनुमान गरिएको छ। कुनै पनि बिरामी कोमामा पुग्नु भनेको गम्भीर संकटमा पर्नु हो। चिकित्सकहरू कोमामा पुगेका थोरै बिरामीलाई मात्र सकुशल अवस्थामा फर्काउन सक्ने ठान्छन्। कोमामा पुगेका बिरामीलाई गन्तव्य मुलुकका रोजगारदाताले उपचार गर्न अप्ठेरो मान्न थालेका समेत पीडितका आफन्त बताउँछन्।
कोमामा पुगेका बिरामीले राम्रो उपचार पाउन नसकेको ठानेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा पुगेका नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने व्यवस्थाबारे छलफल समेत गरेको छ। मन्त्रालयका एक अधिकारीले विदेशी अस्पतालमा कोमामा उपचार गराइरहेका ती कामदारलाई स्वदेशमा फर्काएर सरकारी अस्पतालमा उपचार गराउन सकिन्छ कि भन्नेबारे छलफल भइरहेको बताए।
मन्त्रालयले यस्तो पहल गरे पनि कोमामा पुगेका ती श्रमिकलाई स्वदेश फर्काउनेबारे पीडितका परिवारबीच नै कुरा नमिलेको बताइन्छ। कतिपय पीडितका आफन्तले स्वदेश फर्काउनु पर्ने बताएका छन् भने कतिपय कोमामा पुगेको बिरामीलाई स्वदेश फर्काउँदा अत्यधिक खर्चिलो हुने भएकाले फर्काउनुअघि सरकार खर्च बेहोर्न तयार हुनुपर्ने बताउँछन्। कोमामा रहेका बिरामीलाई स्वदेशमा फर्काउनेबारे अहिले छलफल मात्र चलिरहेकाले कस्तो निर्णय हुन्छ भन्नबारे अहिले केही भन्न नसकिने मन्त्रालयका अधिकारीहरू बताउँछन्।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सबै तयारी पूरा गरेर मात्र कोमाका बिरामी नेपाल फर्काउने बताए। श्रेष्ठका अनुसार मन्त्रालयले रोजगारीको सिलसिलामा विभिन्न कारणले घाइते अथवा बिरामी भई कोमामा उपचार गरिरहेकालाई बोर्डले स्वदेशमै फर्काएर उपचार गराउन सम्बन्धित अस्पतालसँग पनि मन्त्रालयले छलफल गरिरहेको छ।
‘कोमामा पुगेका बिरामीलाई स्वदेश फर्काएपछि बोर्डबाट खर्च बेहोर्ने गरी सरकारी तथा निजी अस्पतालमा आवश्यकता अनुसार व्यवस्था मिलाइने छ,’ उनले भने। उनले भने, ‘विभिन्न देशका अस्पतालका कोमामा रहेका र अन्य उपचाररत गम्भीर प्रकृतिका बिरामीको संकलित तथ्यांकमाथि कुटनीतिक नियोगसँग पनि सहकार्य र छानविन गरी नेपाल ल्याउने प्रक्रिया मिलाइँदै छ।’
नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिनका लागि काम भइरहेको पनि उनले बताए।
विदेशमा हाल उपचाररत बिरामी कामदारलाई नेपाल ल्याएर उपचार गर्न सकिने उनको दाबी छ। कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र दक्षिण कोरियामा २८ जना नेपालीको कोमामा उपचार भइरहेको बोर्डले तंथ्याक संकलन गरेको छ। सबैभन्दा धेरै कतारमा १३ जना कोमामा उपचाररत रहेको बोर्डले जनाएको छ। त्यसपछि साउदी, कुवेत, युएई र दक्षिण कोरियामा कोमामा उपचाररत छन्।