कञ्चनपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु
(धनगढी) कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणी बजारनजिकै मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।
‘अन्टेस्ट’ मोटरसाइकल सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर शनिबार राति १० बजे दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–३ का २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनील रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक नैनसिंह साउदले जानकारी दिए ।
दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि सेती अञ्चल प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो । तर, चिकित्सकले उनीहरूलाई बचाउन सकेनन् ।