प्रदेश २ मा उपनिर्वाचन : मृत्यु भएका जनप्रतिनिधिकै परिवारलाई प्राथमिकता
(जनकपुरधाम) मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश २ को महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र विभिन्न स्थानीय तहको वडाअध्यक्ष गरी १० पदमा सय जनाको उम्मेदवारी परेको छ ।
महोत्तरीकै बलवा नगरपालिका २, ६ र ८, सर्लाहीको हरिपूर्वा नगरपालिका १, रौतहटको गढीमाई नगरपालिका २, बाराको बारागढी गाउँपालिका १ र पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ को अध्यक्ष पदमा उपनिर्वाचन हुनेछ । उपनिर्वाचन हुने धेरै स्थानीय तहमा यसअघि निर्वाचित जनप्रतिनिधिका परिवारका सदस्य उम्मेदवार बनेका छन् । कुनै पार्टीले यसअघिकै उम्मेदवारलाई निरन्तरता दिएका छन् । प्रदेश २ को सत्ता साझेदार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले तालमेल गर्ने भने पनि सबै ठाउँमा गरेको छैन । खुल्ला राजनीतिमा आएको सीके राउत नेतृत्वको जनमत पार्टीले पिपरा गाउँपालिकासहित ६ वटा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।
पिपरा गाउँपालिकाको अध्यक्षमा गत निर्वाचनमा राजपाका विनोद चौधरी २ हजार ७ सय ७५ मत ल्याएर निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेका बिक्रमले १ हजार ८ सय ७३, तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रामजानकीले १ हजार ५ सय ७८ मत ल्याएकी थिइन् ।
यहाँ नेपाली कांग्रेसबाट विजय यादव, सीके राउत नेतृत्वको जनमत पार्टीबाट अञ्जलीदेवी मण्डल, राप्रपा संयुक्तबाट सुनील ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव र नेपाल जनता पार्टीबाट रमाकान्त झा, राप्रपाबाट श्यामसुन्दर चौधरी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीबाट सुखराम यादवले उम्मेदवारी दिएका निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
उनका अनुसार किशोरी यादव, गणेशकुमार यादव, पुनित अधिकार, प्रदीपकुमार यादव, प्रवीण चौधरी, रञ्जितकुमार झा, शैलदेवी मण्डल, सञ्जयकुमार यादव र रामवृक्ष यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।