प्रधानमन्त्रीसँग ‘टसल’ ले धरापमा परेका मात्रिका यादव
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल पुनर्गठन गर्ने सम्भावना छ । हेरफेर हुँदा आफू पनि परिने हो कि भनेर थुप्रै मन्त्रीहरु थर्कमान छन् ।
यसपटक फालिनेमा सर्वाधिक चर्चामा रहेका एक मन्त्री हुन् मात्रिका यादव । अरु मन्त्रीहरुको बारेमा अझै अनिश्चितता भए पनि उनको बहिर्गमन निश्चित रहेको बताइन्छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट छन् र यादव स्वयंले यो महसुस पनि गरेका छन् ।
२०७४ साल फागुन १४ गतेदेखि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा यादवले कार्यभार सम्हालेका थिए । तर, यो २१ महिना लामो अवधिमा उनले उल्लेखनीय काम गर्न नसकेको आरोप छ । कमजोर कार्यसम्पादनका कारण मन्त्री यादवको मन्त्री पद गुम्ने समाचारले मन्त्रालयमा चहलपहल घटेको छ भने कर्मचारीले समेत उनलाई टेर्न छोडेका छन् ।