एनजीओ ब्राण्डको नागरिक समाज चाहिँदैन
(काठमाडौं) कुनै बेला एक अर्काविरुद्ध सडक कब्जा गर्ने युवा संघ र वाईसीएलका नेताहरु आइतबार एउटै मञ्चमा एउटै ब्यानरमुनि थिए ।
नेकपा एकीकरणपछि बनेको राष्ट्रिय युवा संघको एकता भेलामा उपस्थित थिए प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसहितका नेता ।
युवालाई उत्साहित पार्दै शीर्ष नेताले पार्टी र सरकार सञ्चालनमा नेतृत्व एकजुट रहेको सन्देश पनि दिए । उनीहरुले नेकपाको सरकारलाई बदनाम गर्ने नियोजित प्रयास भइरहेको भन्दै भ्रम चिर्न र नेतृत्वको प्रतिरक्षामा उत्रिन युवालाई आह्वान पनि गरे ।
उनीहरुले सरकारको आलोचना गर्नेलाई पुँजीवादी, ‘एनजीओ ब्रान्ड’को नागरिक समाज र पश्चिमा वा बुर्जुवा शक्तिको बिल्लासमेत भिराए । आगामी १४ मंसिरको उपचुनावलाई पार्टीको प्रतिष्ठासँग जोड्दै नेकपाको जनमत कमजोर बन्दैछ भन्नेहरुलाई जवाफ दिनुपर्ने समेत नेताहरुले बताए ।
३ जेठ २०७४ मा पार्टी एकीरकणको घोषणा गरेको नेकपाले तीन महिनामा एकताको सम्पूर्ण काम सक्ने घोषणा गरेका थिए । तर, एकीकरण प्रक्रिया अझै बाँकी छ । युवा संघ नेपाल भने नेकपामा सबैभन्दा पहिले एकता टुंग्याउने भातृसंगठन बन्न पुगेको छ । ‘करिब–करिब पार्टी एकीकरणको काम सकिएको छ’ भेलालाई सम्बोधन गर्दै महासचिव विष्णु पौडेलले भने ।