सर्वोच्चले पूजा बोहोरा बलात्कार गर्ने दुबैलाई साढे ११ वर्ष जेल सजाय सुनायो १० लाख क्षतिपूर्ति दिन आदेश
(काठमाडौं) सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई साढे ११ वर्ष जेल सजाय सुनाएको छ । साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाएको हो । आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ ।
सर्वोच्चले कसूरदार दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख र सरकारका तर्फबाट ५ लाख गरी पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश दिएको ढकालले जानकारी दिए । बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।
पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चमा न्यायाधीश सपना मल्ल प्रधान र हरि फुयालको इजलासले कात्तिक ७ गते पुनरावेदन अदालतको फैसला उल्ट्याएको थियो । तर सजाय तोक्न बाँकी थियो । सोमबारको इजलासले सजाय तोकेको हो ।
सर्वोच्चको आइतबारको इजलासले क्षतिपूर्ति संरक्षण ऐनअनुसार क्षतिपूर्ति निर्धारणका लागि पेरोल अधिकृत नियुक्त गर्नसरकारलाई आदेश दिएको छ ।
त्यस्तै मुद्दा अनुसन्धान र अभियोजनकै क्रममा पीडकको आर्थिक अवस्था खुल्ने प्रतिवेदन पनि साथै राख्न आदेश दिएको छ ।