विवाहकाे प्रस्ताव नमान्दा एसिड प्रहार
(मकवानपुर) नेपालमा पहिलोपटक सार्वजनिक भएको एसिड (तेजाब) आक्रमणमा संलग्नलाई कडा सजाय गर्न पीडित परिवारले माग गरेका छन्। साढे पाँच वर्षदेखि फरार रहेका आक्रमणकारी भारतीय नागरिक ४० वर्षीय दिलीपराज केशरी पक्राउ परेसँगै उनलाई जन्मकैद वा फाँसीको माग गरिएको हो।
२० वर्षीया सुन्दर विन्दवासिनी स्थानीय कलेज कक्षा १२ मा पढ्दै थिइन्। आफ्नी फुपूको छोराको विवाहमा दिलीपराज केशरीसँग विन्दवासिनीको पहिलोपटक भेट भयो। फुपूको घरमा गइरहने उनको केशरीसँग भेट बाक्लै हुन थाल्यो। बिस्तारै विन्दवासिनीको पसलमा केशरी आउन थाले। कलेज, ट्युसन जाँदा बाटो कुरेर केशरीले विन्दवासिनीलाई पछ्याउँदै फोन गर्न मात्र थालेनन्, विवाहकै प्रस्ताव राखे। विन्दवासिनीले विवाह नगर्ने भन्दै सम्झाउने प्रयास गरिन् तर केशरीले दिनहुँ भेटेर विवाहको लागि दबाब दिन छाडेनन्।
एकदिन बिहानै पसलमा आएका केशरीलाई विन्दवासिनीका बुबा मधुसुधनले राम्रोसँग सम्झाए। वैशाख ९ गते विन्दवासिनीको आमा–बुवाको विवाह वर्षगाँठको उत्सव मनाउने तयारी भइरहेको थियो। त्यस दिन पसलमा बसिरहेकी विन्दवासिनीले केशरीलाई वास्ता गरिनन्। हातमा बट्टा बोकेका केशरी हँसिलो अनुहार पारेर त्यहाँबाट निस्किए। एकछिनपछि हातमा त्यहीं बट्टा बोकेर पसलमै फर्किएको केशरीले ‘यो मह घरमा देऊ ल’ भने। त्यसपछि केशरीले बट्टा खोलेर विन्दवासिनीको मुखमा छ्यापे। मह भनिएको वस्तु एसिड रहेछ। यता विन्दवासिनी छटपटाउन थालेपछि केशरी फरार भएका थिए।
एसिड प्रहारबाट पीडित हेटौंडा उपमहानगरपालिका–३ मेनरोडकी विन्दवासिनी कंसाकारले केशरीलाई हदैसम्मको सजाय भए मात्र न्याय पाएको अनुभूति हुने बताइन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार सार्वजनिक गर्दा आक्रोशित हुँदै विन्दवासिनीले केशरीलाई झम्टेकी थिइन्। कपाल समातेर भुत्ल्याउन खोज्दा प्रहरीले रोकेपछि उनले रोष प्रकट गर्दै पिट्न पाउनुपर्ने माग गरेकी थिइन्।
विन्दवासिनीकी काका मदनमोहन कंसाकारले धेरै कोसिस गरे पनि उपचारका लागि सहयोगको नाममा केही नपाइएको गुनासो गरे। ‘अहिले पनि हरेक तीन महिनामा भारतको अस्पतालमा उपचार गर्नुपर्छ,’ उनले भने, ‘पक्राउ गर्नु खुसीको कुरा हो तर एकपटकमा उपचार खर्च मात्र एक लाख रुपैयाँ पर्छ, सहयोग नहुँदा खिन्न लाग्छ।’ एसिड आक्रमणपछि उनको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार जारी छ। उपचारमा गर्दा लिएको बैंकको ऋण तिर्न नसक्दा बुवाको नाम कालोसूचीमा निकालिएको भन्दै उनले दुःखेसो पोखिन्। ‘उपचार खर्च नै मासिक २० हजार रुपैयाँभन्दा बढी छ,’ उनले भनिन्, ‘सरकारबाट अहिलेसम्म कुनै सहयोग पाएको छैन।’
एसिड आक्रमणबाट आफ्नो सुन्दर अनुहार जलेकाले केशरीलाई जन्मकैद वा फाँसीको सजाय दिन उनले माग गरिन्। ‘प्रहरीले फाँसी वा जन्मकैद गर्न सक्दैन भने हेटौंडा बजारमा छाडिदिनुस्, यहाँका जनताले सजाय दिन्छन्,’ उनले भनिन्, ‘त्यस (केशरी) लाई ५–१० वर्ष मात्र जेल सजाय हुन्छ भने मेरा बुवाले मेरो उपचारमा ८० लाख भारु खर्च गर्नुभएको छ, त्यो पैसा कि सरकारले देओस् कि त्यसैको मिर्गाैला, कलेजो बेचियोस्।’
भारतको माहाराजगन्जस्थित अमरपुर्वन वडा ६ का केशरीले २०७० वैशाख ९ गते विन्दवासिनीलाई एसिड प्रहार गरी फरार भएका थिए। उनलाई बाराकै जितपुर सिमरा उपमहानगरपालिका–२३ भलोहीमा लुकेर बसेको अवस्थामा बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक विकासराज खनालले बताए। उनका अनुसार धेरै लगानी र मेहनतपछि केशरीलाई पक्राउ गरिएको थियो। ‘भलोहीस्थित आफन्त कहाँ धेरै आउने–जाने सूचनाका आधारमा फलोअपमा थियौं,’ उनले भने, ‘मकवानपुरमा प्रहरी प्रमुख हुँदै घटना र केशरीबारे धेरै जानकारी पाएकाले पक्राउ गर्न सहज भयो।’
एसिड छ्यापी घाइते बनाई ज्यान मार्ने उद्योग गरी फरार केशरीलाई पक्राउ गर्न नेपाल प्रहरी प्रमुख एवं महानिरीक्षक सर्वेन्द्र खनालले पनि निर्देशन दिएको बताइएको छ। मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नम्बरअनुसार पाँच वर्षदेखि १२ वर्षसम्म कैद सजायको मागदाबीसहित मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ।