केरुङतर्फ जाने ट्रक र कन्टेनरको संख्या बढ्यो, दैनिक ८० वटासम्म आवतजावत
(रसुवा) सामान आयातका लागि चीनको केरुङ जाने ट्रक र कन्टेनरको संख्या बढ्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले सामान लिनका लागि दैनिक ७० वटा ट्रक र ८० वटा कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरुङ प्रवेश गरेको जानकारी दिएको छ । वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज हुँदै गएको बताइएको छ ।
नेपालबाट सामान लिन गएका ट्रक/कन्टेनर पनि दैनिकरूपमा ६० वटाको हाराहारीमा नेपाल फर्कने गरेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । गत भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा आएको स्याफ्रुबेंसी मैलुङ–बेत्रावती खण्ड र धुञ्चेतर्फको पासाङल्हामु मार्गसमेतका दुवै राजमार्ग सञ्चालनमा आएको छ ।
२०७२ मङ्सिर १५ गतेदेखि पूर्णरूपमा चालू रहेको नेपालको उत्तरी रसुवागढी नाकाबाट आयात हुनेमा स्याउ, ओखर, स्याउपाती जस्ता फलफूल रहेका छन् । यस्तै अन्य सामानमा जुत्ता, चप्पल, थर्मस, रोल कपडा, तयारी पोशाक, चक्लेट, बच्चाको खेलौना, इलेक्ट्रिक सामान, नेपालमा निर्माणाधीन हाइड्रो पावरका उपकरणलगायतका मालवस्तु रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।