यसपालि पनि शरद ऋतुमा सगरमाथा आरोहण शून्य
(काठमाडौं) शरद ऋुतमा सगरमाथा आरोहणको प्रयास यस वर्ष पनि असफल भएको छ । आरोहणका लागि दुई टोलीका १० आरोहीले अनुमति लिएकोमा कोही पनि सफल भएनन् ।
यस वर्ष एकै रुटबाट जानुपर्ने सगरमाथा, नुप्त्से र ल्होत्सेमा कुनै पनि पर्वतारोहीले चुचुरो चुम्न नसकेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताइन् । शरद ऋतुमा अधिक हिउँ जम्ने र हिउँका ढिस्काहरु बढी खस्ने जोखिम हुन्छ । यसपटक केही आरोही साउथकोलसम्म पुगेपनि त्यहाँबाट माथि जानसक्ने अवस्था नभएपछि फर्किए । सगरमाथामा ‘क्याम्प थ्री’ पछिको विन्दु साउथकोल हो ।
पछिल्लो पटक सन् २०१० मा अमेरिकी आरोही एरिकले अक्टोवर महिनामा सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसपछि भने कुनै पनि आरोही शरद ऋतुमा सगरमाथाको चुचुरोमा पुगेको रेकर्ड छैन । वसन्तु ऋतुमा भने सगरमाथामा पर्वतारोहीको भीड लाग्छ ।
अनुकूल मौसमका कारण बसन्तु ऋतु (चैत–वैशाख) मा सगरमाथामा भीड लाग्ने गरेको हो । सन् २०१९ मा मात्र ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए । पर्वतारोही र सहयोगी गरी कूल ७ सय हाराहारी मानिस सगरमाथा चुचुरोमा पुगेका थिए । सगरमाथाका लागि शरद ऋतुमा सरकारले आरोहण रोयल्टी पनि वसन्तको तुलनामा ५० प्रतिशत कम लिन्छ ।
यो वर्षात पछिको समय हो । तर, फाट्टफुट्ट वर्षात जारी नै रहेको हुन्छ । यसबेला अधिक हिमपात हुने र ठूल्ठूला ढिस्का खस्ने गर्छन् ।
‘सन् २०१४ मा आएको हिमपहिरो कै जस्तो जोखिम शरद ऋतुमा बढी हुन्छ,’ निर्देशक आचार्यले भनिन्, ‘त्यसैले पनि आरोहीले जोखिम लिन मान्दैनन् ।’ अर्कोतर्फ वसन्तु ऋतुमा जस्तै तयारी शरद ऋुतमा सगरमाथामा हुँदैन । न बाटो बनाउने टोली खटिन्छ, न अन्य मेडिकल टीम नै । सबै जोखिम आफै उठाएर जानु पर्ने बाध्यताले शरद ऋतुमा सगरमाथा आरोहण कठिन भएको हो ।
शरद ऋतु सगरमाथा चढ्ने तयारीमा रहेका आरोहीले साना हिमाल चढ्ने सिजनका रुपमा पनि चिनिन्छ । यस सिजनमा साना हिमाल चढेर अनुभव लिएका धेरै आरोहीले वसन्त ऋतुमा सगरमाथा चढ्ने आँट गर्न सक्छन् । यद्यपी साना हिमाल चढ्न अझै जोखिमपूर्ण मानिन्छ । किनकी साना हिमालमा अझ जमेको हिउँ हुन्छ, नियमित आरोहण नहुने भइएकाले यसको वनावट र अवस्थितिले धेरै मानिसलाई झुक्याउन सक्छ ।
विभागका अनुसार शरद ऋतुमा कूल ४४ हिमाल चढ्न अनुमती जारी भएका छन् । यस सिजनका लागि आइतबारसम्म १ सय ३३ समूहका ९ सय ९८ आरोहीले अनुमति लिएका छन् ।
शरद ऋतुमा मात्र ४४ हिमालका लागि जारी आरोहण अनुमतिबाट करीव ६ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागको तथ्यांक अनुसार ५ करोड ९३ लाख २१ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो ।