आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुहरुले १० प्रतिशत छुट
२९ भदौ, काठमाडौं । आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले छुट दिने निर्णय लिएको हो ।आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोजदेखि १७ कात्तिकभित्र पर्नु पर्यो, टिकटमा १० प्रतिशत छुट पाइन्छ,’ आयोनका सदस्य प्रज्ववल थापाले भने । १२ असोज देखि १७ कात्तिकसम्म दशै, तिहार, छठलगायतका चाड पर्छन् ।बिमानस्थल कर र इन्धनको मूल्यमा बाहेक बायुसेवा कम्पनीले लिने भाडामा छुट दिन लागिएको आयोनका अध्यक्ष क्या. रामेश्वर थापाको भनाइ छ । पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीहरुको बताएका छन् ।‘विगतमा झैँ टिकट पाउन मारामार हुँदैन,’ उनले भने, ‘फूलपातीदेखि दशमीसम्म काठमाडौंबाट बाहिर जाने र एकादशीदेखि २/३ दिनसम्म काठमाडौं आउने उडान अलि चाप हुन्छ ।’‘जहाजको टिकट लिँदा ट्राभल एजेन्सी तथा अन्य माध्यमबाट छुट नपाइन सक्छ, त्यसकारण काउन्टरबाटै टिकट काट्न आग्रह गरिएको हो,सदस्य प्रज्वल थापाले भने ।विगतका दशैंमा यसबेला सबै कम्पनीको उडानका टिकट सकिन्थे, अहिले भने नियमित उडानका टिकटसमेत बुकिङ हुने क्रम जारी छ ।
यसबाहेक कम्पनीहरुले दशैं–तिहारमा बढी चाप हुने समयमा अतिरिक्त उडान थपेर पनि टिकट काट्ने गर्छन् । यात्रुको माग अनुसार उडान थपघट हुने थापाले बताए ।