जनकपुरका उदाहरणीय कर्मचारी जसले रोपे १ लाख बिरुवा
विश्वमा जलवायु परिवर्तन र यसको प्रभावबारे बहस भइरहेको छ । जलवायु परिवर्तनसँगै उत्पन्न आर्थिक तथा सामाजिक क्षतिको मूल्यांकन गर्दै बेलैमा सचेतना अपनाउन विज्ञहरूले विश्वका नेताहरूलाई सुझाव दिँदै आएका छन्
बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणका कारण सीमित प्राकृतिक स्रोतमाथि अत्यधिक माग बढ्न गई प्राकृतिक पर्यावरणीय चक्रमा आउने गडबडीले विश्व जलवायुको तापमानमा असर परी यसका असरहरू देखिन थालेका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असरले बर्सेनि नेपालमा बाढीपहिरो, हावाहुरी, असिना, सुक्खा, खडेरी, तातो हावाको लहरजस्ता घटना बढेका छन् । यस्ता प्राकृतिक प्रकोपले कृषि, जलस्रोत तथा ऊर्जा, जनस्वास्थ्य, वन तथा जैविक विविधतालगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेका छन् । वर्षा लागेपछि तराईमा आइपर्ने बिपत्तिबारे त हामी सबै ज्ञान नै छौं ।
आज हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट जलवायु परिवर्तनबाट हुनसक्ने असर न्यूनीकरणका लागि पहल गर्नुपर्ने बेला आएको छ । कम्तिमा आफू वरिपरिको वातावरणबारे सचेत हुने, वन फडानी र चुरे दोहन रोक्ने, वृक्षरोपण गर्ने कुरामा सबैको ध्यान जाने हो भने आफूसँगै धेरै कुरा जोगाउन सकिन्छ ।
तर, हामीकहाँ जलवायु परिवर्तन र यसको असरबारे थाहा पाउने विरलै छन् । थाहा पाएकाहरूले पनि खासै वास्ता गरेका पाइँदैन ।
तर, जनकपुरमा एक कर्मचारी यसबारे निकै गम्भीर र सचेत छन् । उनको नेतृत्वमा धनुषा जिल्लामा एक लाखभन्दा बढी बिरुवा रोपिएको छ । व्यक्तिगत रूपमा उनले १० वर्षमा २० हजारभन्दा बढी बिरुवा आफ्नै हातले रोपेका छन् ।
उनी हुन् प्रदेश २, वन मन्त्रालयअन्तर्गत प्रदेश निर्देशनालयका अधिकृत ५२ वर्षीय सुरेश शर्मा । कार्यालय समयबाहेक बिहान र बेलुका उनी वृक्षारोपणमै व्यस्त हुन्छन् । वृक्षारोपणका लागि उनले एउटा टिम नै बनाएका छन् जुन टिममा प्रदेश २ का सांसद रामआशिष यादव, सामाजसेवी अमरचन्द्र अनिल, जिल्ला वन कार्यालय धनुषाका कर्मचारी वैद्यनाथ सिंहलगायत छन् । यो समूहका सदस्यहरू आफ्नो खाली समय वृक्षारोपणको स्थान खोज्न र आवश्यकता हेरेर वृक्षारोपण गर्नमा व्यस्त हुन्छन् । प्रकृति संकटमा परे सम्पूर्ण प्राणीको जीवन जोखिममा पर्ने वृक्षारोपण अभियन्ता शर्मा बताउँछन् । आफू वनको कर्मचारी तथा पर्यावरणमा चासो राख्ने व्यक्ति भएकाले पनि प्राकृतिक विपत्ति र यसको असरबारे विशेष सजगता अपनाउने गरेको उनको भनाइ छ ।
आफूले २०६६ सालमा जनकपुरको दूधमती नदीनजिक रहेको स्मशान घाट र कबर्ड हलनजिक रहेको चिहानबाट वृक्षारोपण अभियान आरम्भ गरेको उनले बताए ।
उनको नेतृत्वमा धनुषाको चुरेअन्तर्गतको चारनाथ जंगलमा १६ हजार, पुष्पवलपुरको भाठीगाडीमा १६ हजार वृक्ष रोपिएको छ । चारनाथमा उनको अभियानलाई नेपाली सेनाले सहयोग गरेको थियो भने पुष्पवलपुरको वृक्षारोपणमा स्थानीय उपभोक्ता समितिले सहयोग गर्या] ।
धनुषाको कनकपट्टी, मणिमण्डप, पिडारी, विन्दही, देवपुरा रूपैठा, रामपुर, लोहना, माछापालन, जनकपुर अञ्चल प्रहरी कार्यालय, ज्ञानकुप संस्कृत विद्यालय, राराव क्याम्पस, तिरहुतीया गाछी, गंगासागर, धनुषसागर, जनक मन्दिर, लक्ष्मण मन्दिरमा गरी ५० हजार वृक्षारोपण गरिएको छ । ती सबै स्थानमा उनकै पहलमा वृक्ष उपलब्ध गराउनुका साथै वृक्षारोपण गराइएको हो ।
शर्मा नेतृत्वको अभियानले समाजलाई नयाँ र महत्त्वपूर्ण सन्देश दिएको बताउँछन् सांसद रामआशिष यादव । ‘शर्माजी राम्रो काममा लगनशील भई निरन्तर लाग्ने व्यक्ति हुनुहुँदो रहेछ,’ सांसद यादव भन्छन्, ‘उहाँले मजस्ता थुप्रैको सोच बदलेर यो अभियानमा सरिक गराउनुभएको छ ।’
क्षेत्रीय वन निर्देशनालयका पूर्वनिर्देशक गणेश राय वृक्षारोपण अभियन्ता शर्माको पहलबाट आफू अत्यन्तै प्रभावित भई उनलाई साथ दिएको बताउँछन् ।
वन मन्त्रालयअन्तर्गत भूसंरक्षण विभागका पूर्वमहानिर्देशक डा. अखिलेश्वरलाल कर्ण सुरेश शर्माजस्ता लगनशील र वातावरणीय सन्तुलनप्रति संवेदनशील कर्मचारी आफूले विरलै भेटेको बताउँछन् । उनले पनि शर्माको वृक्षारोपण अभियानलाई साथ दिएका छन् ।