ज्ञानेन्द्रलाई नागार्जुनमा सुरक्षासहित बस्ने अवसर दिएका छौं :अध्यक्ष प्रचण्ड
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘तानाशाह र निरंकुशका पुजारीहरू‘ले संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध गाली गलौज गर्न थाले नेपाली जनताले छुट नदिने चेतावनी दिएका छन्। ‘आजभोलि एकथरि तानाशाह र निरंकुशका पुजारीहरू अहिले संघीय लोकतन्त्रको विरूद्ध बकवास गर्न थालेका छन् म तिनिहरूलाई चुनौती दिन चाहन्छु ३ करोड नेपालीको आवेगमा परे भने खरानी हुन पनि बेर लाग्ने छैन,’ आइतबार खैरेनीघाट(सुनकोसी) पुलको उद्घाटन गर्न सिन्धुली पुगेका प्रचण्डले भने, ‘अहिले हाम्रो पार्टी र कार्यकर्तालाई तिमीहरूले बधाइ र धन्यवाद दिनुपर्छ हामीले उदारतापूर्वक तिमीहरूलाई छोडिदिएका छौं। हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई बस्न दिएका छौं। नारायणहिटी छोडेर नागार्जुनमा सुरक्षासहित बस्ने अवसर दिएका छौं। हाम्रो सुझाव हो बकवास गर्न बन्द गरे हुन्छ।’ नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेकाहरूको सपना कहिल्यै पूरा हुन नदिने उनले बताए।
‘हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरू सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेका छन्। जम्मा डेढ वर्ष भयो सरकार बनेको, स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ। दुई वर्ष पुगेकै छैन तर तिनीहरूले सिस्टम बदल्ने कुरा गरेका छन्। एकथरी मान्छेले राजालाई ल्याउँछौं भनेको सुन्नुभएको पनि होला । म यो मञ्चमा बसेर देशभरका जनतालाई अपील गर्न चाहान्छु,’ उनले भने,‘तिनीहरूले नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेका छन्, त्यो कहिल्यै पुरा हुने छैन। त्यसलाई कुनै हालतमा पूरा हुन दिइने छैन। हामी सानो दुःख, त्याग र बलिदानले यो ठाउँमा आएका होइनौं। हामीलाई कसैले दया माया गरेर कम्युनिष्ट पार्टीलाई दुई/तिहाइई दिएको होइन।’
केहीले २ वर्ष नबित्दै सरकार होइन सिस्टम नै बदल्नुपर्छ भन्ने सुनेको भन्दै त्यस्तो बकवास नगर्न उनले सुझाएका छन्। शनिबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एक कार्यक्रममा सरकार होइन सिस्टम नै बदल्नु पर्ने बताएका थिए। सिस्टम बदल्ने कुरा सजिलो ठानेका भए त्यो मुर्खता हुने उनले बताए।
रासस