सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाहरुमा आउँदो मंसिरमा उप–निर्वाचन हुने
काठमाण्डौ २२ साउन । सुदूरपश्चिमका पाँच जिल्लामा आउँदो मंसिरमा उप–निर्वाचन हुने भएको छ । सुदूरपश्चिमका बैतडी, डोटी, अछाम , बाजुरा र कञ्चनपुर जिल्लाका सात वडामा उप–निर्वाचन हुने भएको हो ।वडा अध्यक्ष विहीन रहेको बैतडीको पुर्चौडी नगरपालिका वडा नं ४, सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४, डोटीको आदर्श गाउँपालिका २, अछामको मेल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका १ र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा उप–निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मानबहादुर विष्टको मृत्यु भइ पद रिक्त रहेको छ ।यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमसिंह बोहोरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईको पनि मृत्यु भइसकेकाले उप निर्वाचन हुनेछ ।
यसका साथै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वाचित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप–निर्वाचन हुने जनाइएको छ ।उप–निर्वाचनका लागि आयोगले तयारी गरिसकेको र केही दिनभित्रै निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी माधव फुयालको भनाइ छ ।यसअघि साउन १६ गते निर्वाचन आयोग र विभिन्न राजनीतिक दलका बिचमा अगामी मंसिर १४ गते उप–निर्वाचन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार देशभरमा रिक्त रहेका ५१ पदका लागि उप–निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आगामी मंसिरमा उपनिर्वाचन मिति तोकेसँगै मतदाता नामवालीमा नाम दर्ता गराउने काम पनि यही साउन १६ गतेदेखि रोकिएको छ । यही साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।

sudurkhbar