राराब क्याम्पस तोडफोड, पाएनन् ६ सय विद्यार्थीले परीक्षा दिन
काठमाण्डौ : बिबिएस द्बितीय वर्षका परीक्षार्थीले साेमबार जनकपुरस्थित राराब क्याम्पसमा तोडफोड गरेका छन्। अचानक परीक्षा केन्द्र परिवर्तन गरेपछि आक्रोशित बनेका विद्यार्थी क्याम्पसमा तोडफोड गरेका हुन। विद्यार्थीले क्याम्पसको टेबल र कुर्सी तोडफोड गर्नुका साथै केही महत्वपूर्ण काजगात समेत च्यातिदिएका छन्। विद्यार्थी तोडफोडमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएका थिए। सुरक्षाकर्मीले आन्दोलित विद्यार्थीलाई क्याम्प्स हाताबाट बाहिर निकालेपछि प्रशासनविरुद्ध प्रदर्शन गरेका छन्।
मोडल क्याम्पस जनकपुरकी छात्रा बिनिसा यादवले अचानक परीक्षा केन्द्र परिवर्तन गरेको भन्दै आक्रोस पोखिन्। उनले भनिन्, ‘राराब क्याम्पस परीक्षा केन्द्र तोकेपछि दुई विषयको परीक्षा पनि दिइसकेका छौं। तर आज एकाउण्ट विषयको परीक्षा दिन आएपछि परीक्षा केन्द्र परिवर्तन भएको जानकारी पाएँ।’ राराब क्याम्पस प्रशासनको लापरबाहीले बिबिएस द्बितीय वर्षका करिब ६ सय विद्यार्थी एकाउण्ट विषयको परीक्षा दिनबाट वञ्चित भएका छन्। क्याम्पस प्रमुख बिरेन्द्र यादवले ठाउँको अभावका कारण यहाँबाट परीक्षा केन्द्र सार्न लगाएको बताए। उनले केन्द्र परिवर्तन भएपछि २ दिन अगाडि नै सूचना जारी गरेको दावी गरे।
‘करिब १२ सय विद्यार्थीको परीक्षा केन्द्र यहाँ तोकेपछि व्यवस्थापन गर्न गाहे भएको थियो’, क्याम्पस प्रमुख यादबले भने, ‘त्यसैले करिब ६ सय परीक्षार्थीको परीक्षा केन्द्र सार्न केन्द्रमा आग्रह गरेको थिए। सोही अनुसार सारिएको छ।’
रासस