अवरिल बर्षाका कारण लुइँटेलभञ्ज्याङ भच्चेक सडकको ७० करोडको बाटो भत्कियो
गोरखा । केही दिनअघि कालोपत्रे सम्पन्न गरिएको लुइँटेलभञ्ज्याङ भच्चेक सडकको पहिलो खण्डको बिभिन्न ठाउँको सडक बर्षाले भत्किएको छ । पानी पर्न थालेपछि सडक भत्किन र ग्याभिन पर्खाल पल्टिन थालेको स्थानीयबासीले गुनासो गरेका छन् ।
बर्षाले सिरानचोक गाउँपालिका ४ को चिउरीबोट भन्ने ठाउँमा कालोपत्रे गरिएको सडक भत्किएको र सिरानचोक गाउँपालिका ३ हर्मी भञ्ज्याङ नेर राखिएको तारजालीको पर्खाल पनि पल्टिएको स्थानीय रमित ढकालले जानकारी दिए । उनका अनुसार करिब सात मिटर जति भास्सिएको छ । त्यहाँ छ वटा ग्याभिन भरेको थियो । निरन्तर झरी परिरहेको कारण सडक खाल्डाखुल्टी पारेको र केहि स्थानमा बगाएको स्थानीयबासीले जानकारी दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ(जिमाली)का प्रमुख रामशरण आचार्यले सडक भत्किएको बारे कार्यालयलाई जानकारी भएको बताए । सो सडक निर्माण कम्पनीलाई भत्किएको खण्ड मर्मतका लागि आग्रह गरिसकिएको उनले बताए ।
भूकम्पीय आपतकालीन सहायता परियोजनाले सो सडक कालोपत्रे गरेको हो । एशियाली विकास वैंकको ७० करोड रुपैंया सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा लुइँटेलभञ्ज्याङदेखि तार्केडाँडासम्म पहिलो प्याकेजको १८.५ किलोमिटर सडक लामा अमर जेभी कन्स्ट्रक्शनले र दोस्रो प्याकेज अन्तर्गत तार्केडाँडादेखि नयाँगाउँसम्मको १३ किलोमिटर सडक लामा कन्स्ट्रक्शनले एक महिनाअघि निर्माण सम्पन्न गरेका थिए ।