रोनाल्डोको दुई गोलसँगै पोर्चुगलको ५–० को शानदार जित, नकआउट नजिक
ह्युस्टन — क्रिस्टियानो रोनाल्डो को दुई गोलसहितको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० को शानदार जित दर्ता गरेको छ।
विश्वकपको दोस्रो खेलमा मंगलबार भएको खेलमा ४१ वर्षीय रोनाल्डोले छैटौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। उनले पहिलो हाफमै दोस्रो गोल थप्दै आफ्नो उत्कृष्ट फर्म पुनः देखाए। यस खेलमा उनी म्यान अफ द म्याच समेत घोषित भए।
पोर्चुगलका लागि नुनो मेन्डेस ले फ्रिकिकमार्फत आकर्षक गोल गरेका थिए भने उज्बेकिस्तानका अब्दुभोहिद नेमाटोभले आत्मघाती गोल गरेका थिए। अन्त्यतिर राफायल लियो को गोलसँगै पोर्चुगलले ५–० को सहज जित सुनिश्चित गर्यो।
यो जितसँगै रोनाल्डो पुरुष विश्वकपको इतिहासमा छवटा फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
समूह ‘के’ अन्तर्गत कङ्गो डीआरसँग बराबरी खेलेपछि चर्को आलोचनामा परेका रोनाल्डोले यो जितलाई महत्वपूर्ण भन्दै टोलीको प्रदर्शनको प्रशंसा गरे। उनले “आजको सबैभन्दा महत्त्वपूर्ण कुरा जित थियो” भन्दै समूह चरण पार गर्ने लक्ष्य पूरा भएको बताए।
पोर्चुगल अब शनिबार कोलम्बियाविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ। उक्त खेलमा जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा टोली रहेको छ।
खेलपछि रोनाल्डोले सम्भावित नकआउट चरणमा लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनासँग भेट हुन सक्ने सम्भावनाबारे टिप्पणी गर्दै त्यो “अद्भुत” हुने बताएका छन्।