सर्लाहीमा इँट्टा प्रहारबाट घाइते वृद्धको मृत्यु, आक्रमणमा संलग्न १९ वर्षीय युवक पक्राउ
सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरस्थित मुखिया चोकमा सुतिरहेका वृद्ध दम्पतीमाथि इँट्टा प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा घाइते भएका ७४ वर्षीय वासुदेव साह तेली (सुकदेव साह) को उपचारका क्रममा मृत्यु भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय शंकर कुमार यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे आफ्नै घरमा सुतिरहेका साह दम्पतीमाथि आक्रमण भएको थियो। घरमै सानो किराना पसल सञ्चालन गर्दै आएका साह र उनकी ७३ वर्षीया पत्नी जिवछी देवीलाई यादवले कोठाभित्र प्रवेश गरी इँट्टाको टुक्राले टाउको तथा अनुहारमा प्रहार गरेका थिए।
कात्तिक २८ गते बिहान अबेरसम्म पनि दम्पती नउठेपछि जेठा छोराले कोठाको ढोका खोलेर हेर्दा दुवै जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए। त्यसपछि उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको थियो।
घटनालगत्तै फरार भएका यादवलाई प्रहरीले कात्तिक २८ गते आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो। सुरुमा ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेकोमा उपचारकै क्रममा मंसिर ३ गते अस्पतालले साहलाई मृत घोषणा गरेको थियो। उनकी पत्नीको उपचार भने जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वृद्धको मृत्यु भएपछि पक्राउ परेका यादवमाथि ज्यानसम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योगमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपित यादव गाँजा सेवन गर्ने गरेको खुलेको छ। मृतक र आरोपितबीच गाँजा किनबेचका क्रममा विवाद उत्पन्न भएको र सोही रिसइबीका कारण वृद्ध दम्पतीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ।