इन्डोनेसियाको अवैध सुनखानीमा बाढी पस्दा २६ कामदार फसे
इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीभित्र बाढी पसेको प्रहरीले बुधबार जनाएको छ ।
पश्चिम जाभाको बोगोर जिल्लास्थित खुला खानीमा सोमबार भारी वर्षापछि नदीको पानी पसेको थियो । त्यसपछि खानीभित्र रहेका कामदारहरू बाहिर निस्कन नसकी फसेका हुन् ।
पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानका अनुसार फसेका २६ जना कामदारलाई सुरक्षित रूपमा बाहिर निकाल्न संयुक्त उद्धार टोली परिचालन गरिएको छ ।
उनका अनुसार वर्षायामको प्रतिकूल मौसम र खानीभित्र प्रवेश गर्ने साँघुरो मार्गका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । उद्धार टोलीले खानीको उत्खनन सुरुङभित्र प्रवेश गरी कामदारको खोजी तथा उद्धार गरिरहेको छ ।
बाढी खानीमा पस्नुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । खानीभित्र कामदार फसेको जानकारी अधिकारीहरूले मंगलबार मात्रै पाएका थिए ।
इन्डोनेसियामा विशेषगरी अनुमति नलिई सञ्चालन गरिएका खानीमा सुरक्षा मापदण्डको पालना नहुने भएकाले यस्ता दुर्घटनाको जोखिम उच्च रहने गरेको छ ।