पोखरा–दुबई उडानमा दुई महिनामा १३ हजारभन्दा बढी यात्रु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ । फ्लाइ दुबईको पोखरा–दुबई–पोखरा उडानबाट दुई महिनामा १३ हजार ४७४ यात्रुले सेवा लिएका छन् ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार असोज ७ देखि मंसिर ७ गतेसम्म भएका १२२ वटा दुईतर्फी उडानमा दुबईबाट पोखरा आठ हजार ११५ यात्रु आएका थिए भने पोखराबाट पाँच हजार ३५९ जना दुबई गएका थिए ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र एमिरेट्समार्फत एउटै टिकटबाट विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले यस उडानको सम्भावना बढाएको बताए ।
उनले पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यात्रुको सङ्ख्या थप बढ्न सक्ने बताए ।
२०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाइ दुबईले यहाँबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो ।