बालबालिकाको हेरचाहमा संस्थाभन्दा परिवारमा आधारित प्रणालीलाई प्राथमिकता दिनुपर्ने मन्त्री वादीको भनाइ
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको हेरचाहमा संस्थागत व्यवस्थाभन्दा परिवारमा आधारित प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।
ललितपुरमा आज आयोजित बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी राष्ट्रिय अन्तरक्रियामा उनले बालबालिकाको सर्वोत्तम हित, भावनात्मक सुरक्षा र सर्वाङ्गीण विकासका लागि पारिवारिक वातावरण आवश्यक रहेको बताइन् ।
उनले संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा सीमित गर्दै पारिवारिक पुनर्मिलन, नातेदारको संरक्षण र संरक्षित परिवारजस्ता विकल्पलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री वादीले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणालीलाई प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने काम अघि बढाइएको जानकारी दिँदै तथ्याङ्क सङ्कलनलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।